अनिल श्रेष्ठको `टाइगर हिलकी पुनम´को परिचर्चा

काठमाडौं, २३ असोज ।
कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्धकृति `टाइगर हिलकी पुनम´को तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर परिचर्चा कार्यक्रमको आयोजना गरिएको छ । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशित गरेको हो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवम् स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने वैचारिक स्पष्टता, काव्यात्मकता, भाषिक मिठास र मनोरम शैलीका कारण एउटा उचाइ प्राप्त गरिसकेको बताउँदै अब थप उचाइका लागि साधनाको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले विश्वमा निबन्ध र यात्रानिबन्धको क्षेत्रमा देखिएको पछिल्लो विकास र प्रवृत्तिको चर्चा गर्दै हामी पनि अब निबन्ध “टेबुल गफ”मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले अनिल श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त भएको धारणा राख्दै अझै साधना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्का समालोचक डा. बिन्दु शर्माले अनिल श्रेष्ठका निबन्धहरूमा देखिने पात्रहरूबारे विस्तारमा उल्लेख नहुँदा पाठकलाई के के नपुगेजस्तो लाग्ने विचार राख्दै आगामी लेखनमा त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । निबन्धकार नवीन विभासले रोल्पामा जनादेश जान थालेपछि आफूले अनिल श्रेष्ठलाई चिनेको बताउँदै उहाँका निबन्धमा स्थानीय रङ पाइने बताए ।

समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठको परिचय र साहित्य क्षेत्रमा समग्र योगदानबारे चर्चा गरे । निबन्धकार अनिल श्रेष्ठले आफ्नो लेखनयात्राबारे प्रकाश पार्दै आलोचनाबाट आफूलाई खार्न र अघि बढ्न थप ऊर्जा प्राप्त हुनेगरेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष, समालोचक प्रमोद प्रधानले अनिल श्रेष्ठलाई चिन्न पुस्तक पढेर मात्र नहुने बताउँदै त्यसबाहिर पनि सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत गरेका थिए भने कोषाध्यक्ष शान्ति सापकोटाले धन्यवाद दिइन् ।

आयोजक संस्थाका महासचिव अनन्त वाग्लेले सहजीकरण गरेको उक्त कार्यक्रममा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, डा. धनप्रसाद सुवेदी, विष्णु भण्डारी, डा. बालाकृष्ण अधिकारी, माधव घिमिरे अटल, सिर्जना दुवाल, कमल सुवेदी, राजेन्द्रमान डङ्गोललगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट