भरतपुर, २३ असोज ।
रेडियो त्रिवेणी १००.६ मेगाहर्जले शनिवार
एक कार्यक्रमको आयोजना गरि रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरललाई सम्मान गरेको छ । अविरललाई `मोक्ष´ उपन्यास प्रकाशन गरी चितवनमा साहित्यिक एवम् रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको रेडियोका कार्यकारी निर्देशक अर्जुन अधिकारीले बताए । त्यस्तै चितवनका वरिष्ठ प्राविधिक एवम् रेडियोका पूर्वप्रोडक्शन मेनेनर विजय गुप्तालाई सम्मान गरिएको छ ।
चितवनबाट काम सुरु गरी नेपालभरका रेडियोहरूमा प्राविधिक क्षेत्रमा गरेको योगदानको प्रशंसासहित गुप्तालाई सम्मान गरिएको कार्यकारी निर्देशक अधिकारीले बताए । रेडियोले विजयदशमी, शुभ दीपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि सम्मानका कार्यक्रमहरू सम्पन्न गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको प्रमुखआतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वको बेला जिल्लाको शान्ति सुरक्षा व्यवस्थामा विशेष योजना लागू गरिएको बताए ।
तेजनारायण खरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना आर्याल, प्रबन्ध निर्देशक सुदीपसिंह अधिकारी, समालोचक उदय अधिकारी, समालोचक डा. एकनारायण पौड्याल, चितवन जिल्ला बार एसोसियसनका पूर्वअध्यक्ष जगन्नाथ भण्डारीलागयत संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।





