भरतपुर, २३ असोज ।
पत्रकार तथा लेखक कृष्ण आचार्यको कृति ‘ब्लु डायरी’माथि भरतपुरमा अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार नेपाली लेखक संघ चितवनको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिका वडा नं ३ स्थित चितवन साहित्य परिषद्को सभाहलमा आयोजित कार्यक्रममा समालोचकद्वय उदय अधिकारी र लक्ष्मी बरालले ब्लु डायरी उपन्यासका बारेमा आफ्ना विचार राखेका थिए ।
“एकअर्कालाई बुझेर पनि बुझ्न बाँकी रहेका जोडीको बारेमा उपन्यास लेखिएको छ । उपन्यास एक प्रकारले प्रेम, स्पर्श र प्रणयको संगम जस्तो देखिएको छ”, समालोचक बरालले बताइन् ।
यस्तै समालोचक उदय अधिकारीले उपन्याससँग नयाँ पाठक उत्पादन गर्ने क्षमता रहेको उल्लेख गरे । “लेखकले उपन्यासमा प्रेम तथा रोमान्सका बारेमा लेख्नुभएको छ । यसले किशोर तथा युवाहरूलाई आकर्षित गर्न सक्ने सहजै अनुमान लगाउन सकिन्छ”, अधिकारीले बताए । उपन्यासको नाममा रहेको ब्लु शब्दले अनेकन् अर्थ दिने हुँदा पुस्तकमा पाठकभित्र कौतुहलता उत्पन्न गराउने शक्ति रहेको उनले सुनाए ।
“उपन्यास पढ्दै जाँदा कथामा अब के हुन्छ होला भन्ने खालको अनिश्चितता कायम रहने हुँदा लेखकलाई सफल मान्न सकिन्छ । लेखकले मुख्य सस्पेन्सलाई अन्तिममा मात्रै उजागर गरेका छन्”, उनले भने । लेखक पत्रकारिता पृष्ठभूमिबाट आएका हुनाले उपन्यासमा आफैँले प्रश्न सोधी आफैँले उत्तर दिने प्रयास गरेको उनले सुनाए । “उपन्यासमा सबै कुरा राखौं, केही नछुटोस् भन्ने हिसाबले अन्तर्वार्ता पनि राख्नुभएको रहेछ । त्यो चाहिँ अलि लामो भयो कि भन्ने भान पाठकलाई पर्न सक्छ”, अधिकारीले टिप्पणी गरे ।
कार्यक्रममा बोल्दै उपन्यासका लेखक कृष्ण आचार्यले आफ्नो कृतिमा प्रेम र प्रकृतिको सम्मिश्रण गराउने प्रयास गरेको सुनाए ।
“मान्छे धनको पछाडि पूरै लिप्त भएको छ । प्रेमसम्बन्ध यौनमा पुगेर टुँगिने गरेका छन् । समाजमा यस्तो विकृति छाएको अवस्थामा निःस्वार्थ प्रेम र प्रकृतिप्रतिको प्रेमलाई उपन्यासको प्रमुख विषयवस्तु बनाउने कोसिस गरेको छु”, उनले भने । पाठकलाई प्रेममा असफल हुनु भनेको जीवन नै सकिनु होइन भन्ने कुरामा पनि विश्वास दिलाउन चाहेको उनले बताए ।
कार्यक्रममा नेपाली लेखक संघ चितवनका अध्यक्ष सुरेन्द्र अस्तफल तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले लेखकलाई शुभकामना व्यक्त गरेका थिए ।
‘अप्रिल फुल’ नामक उपन्यासबाट लेखनको यात्रा थालेका आचार्यको ‘ब्लु डायरी’ दोस्रो कृति हो । पुस्तकको प्रकाशक बीएन पुस्तक संसार रहेको छ भने वितरण सम्पूर्ण किताबले गरिरहेको छ ।





