गैंडाकोट, २३ असोज ।
नेपाली काँग्रेस गैंडाकोट नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ । असोज १२ गते भएको गैंडाकोट नगर समितिको अधिवेशनले बद्री सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
प्रजातान्त्रिक सेनानि संघका केन्द्रीय सदस्य तथा क्षेत्रीय प्रतिनिधि तिलकप्रसाद सापकोटाले तत्कालै स्थानीय तहको निर्वाचन आएकोले फुर्सद गरेर बस्ने अवस्था नरहेको बताए । नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना दिँदै नेपाली काँग्रेसका पुराना नेता एवं समाजसेवी मदनभक्त अधिकारीले नगरसमितिमा निर्वाचित कार्यसमितिलाई स्थानीय निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए । उनले पार्टीका सबै साथीहरुलाई समेटर अगाडि बढ्न निर्वाचित समितिलाई अनुरोध समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रीय नेताहरु गजेन्द्रबहादुर आले, बिष्णुकुमारी सापकोटा कंडेल, कमलप्रसाद पराजुली, दोर्ण बन, कमला तिवारी, अमृत भट्टचन, गणेश सापकोटा, शान्ति न्यौपाने, हरेराम गौतमलगायत स्थानीय क्रियाशील सदस्यहरुको उपस्थिति थियो ।
नगर उपसभापति शोभाखर रिमालले स्वागत मन्तव्य राखेको कार्यक्रममा काँग्रेस नगरसमितिलाई योगदान पुर्याउने नरहरि सापकोटा र भवानीप्रसाद घिमिरेलाई सम्मान समेत गरिएको थियो ।
नवनिर्वाचित नगर सभापति बद्री सापकोटाले अबका दिनमा गैंडाकोट नगरमा नेपाली कांग्रेसको क्रियाकलापलाई अझै सशक्त रुपले अगाडि बढाउनका लागि सक्रियताका साथ लाग्नुपर्ने बताए । `आजका दिनसम्म नेपाली कांग्रेस नगर कमिटीले जनताको विश्वास जित्न सक्यो सकेन बहसको विषय हुनसक्छ, पार्टीबीच धेरै असमझदारीहरु छन्, एकले अर्कालाई आरोपप्रत्यारोप लगाउने चलन फस्टाएको छ जुन नेपाली कांगेसको सभ्यता होइन यसलाइ चिर्नेछु´ सापकोटाले भने- `जनताको विश्वास अभिवृद्धि गराउनका लागि अग्रजको सम्मान गर्दै युवा, महिला, दलित, जनजाति र फरक क्षमताभएकाहरुलाई पनि साथमा लिइ पार्टीको सर्वाङ्गिण विकासमा मैले आफ्नो तहबाट र सिङ्गो नगर समितिबाट पहल गर्ने र संगठनलाई अझ बलियो बनाउनअहोरात्र खट्ने बाचा गर्दछु ।´
निवर्तमान सभापति तारापति खरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पार्टीको हितका लागि आफ्नो साथ सधैँ रहने बताए ।





