काठमाडौं, २१ असोज ।
कवि तथा लेखक सुरेन्द्र अस्तफलको नयाँ कवितासङ्ग्रह ‘तेल भिसा’ सार्वजनिक भएको छ ।
अस्तफलको कवितासङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा बिहीबार एक समारोहबिच सार्वजनिक गरिएको हो ।
अस्तफलको यस अगाडि ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ गरि चार कृति प्रकाशित भइसकेका छन् ।
शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद् र नेपाली लेखक सङ्घ चितवन शाखाका अध्यक्ष हुन् भने आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत रहेका छन् ।
कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति रहेको पुस्तक सार्वजनिक समारोहमा समीक्षकहरूले बताएका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा कवि श्रवण मुकारुङ रहेका थिए । यस्तै, कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी राखेका थिए ।
पुस्तक विमोचन कार्यक्रमको सहजीकरण प्रभा बरालले गरेकी थिइन् । शिखा बुक्सले सार्वजनिक गरेको पुस्तकको मूल्य २०० रुपैयाँ छ ।





