बजार गुलजार, न्यून व्यापार

भरतपुर, २१ असोज ।

हिन्दूहरूको विशेष पर्व दशैंको आगमनसँगै नारायणगढ बजारमा मानिसहरुको चहलपहल बढेको छ । मानिसहरू दशैंको किनमेलको लागि बजारमा आउन थालेका हुन् ।

लामो समय कोरोना महामारीका कारण प्रभावित बजारक्षेत्रमा अहिले ग्राहकहरुको भीडभाड देखिन्छ । चाडपर्व नजिकिएसँगै व्यवसायी आशावादी बन्दै गएका छन् । नारायणगढ मिलनरोडका मिलन किचन स्टोर्सका सञ्चालक राकेशकुमार अग्रवाल व्यापारले बिस्तारै गति लिन थालेको बताउँछन् । दशैं, तिहारमा नयाँ भाँडा जोड्ने प्रचलन भएपनि व्यापार तीन वर्षअघि जस्तो नभएको उनले बताए । ‘चहलपहल पहिलेजस्तो छैन, पहिले त बाटोमा हिँड्ने ठाउँ पनि हुँदैनथ्यो । त्यस्तो व्यापार अहिले कहाँ हुनु ?’ उनले भने, ‘व्यापार बिस्तारै होला भन्ने आशा छ ।’नारायणगढकै संगम शु सेन्टरका सञ्चालक गोपीनाथ पौडेल पहिलेभन्दा अहिले सन्तोषजनक व्यापार भएको बताउँछन् । नारायणगढ एस एन्ड एस श्रृङ्गार एण्ड गिफ्ट पसलकी सञ्चालक सुमी श्रेष्ठ दशेैंमा आर्टिफिसिएल गहनाको माग उच्च हुनुपर्नेमा सोचेजस्तो व्यापार नभएको बताउँछिन् । ‘मान्छेको चहलपहल त देखिएको छ तर व्यापर छैन’ उनले भनिन् । पहिले जीविकोपार्जन नै व्यापारले चले पनि अहिले कोरोनाले लथालिङ्ग बनाएको दुःखेसो पोख्छिन् उनी । ‘अहिले व्यापार सन्तोषजनक छैन’ उनले भनिन् । दुईचार महिनाअघि सटर नै बन्द गर्नुपर्ने स्थिति रहेकोमा चाडपर्वले केही आशा बढाएको उनले बताइन् ।


बालकुमारी रोडस्थित फेसन फिस्टाका सञ्चालक साजन परियार व्यापार अझै सुरु नभइसकेको बताउँछन् । कोरोनाले गर्दा बजार खस्केको बताउँदै उनले सोह्र श्राद्धपछि व्यापार हुनेमा आफू विश्वस्त रहेको बताए । ‘घटस्थापनापछि व्यापार सुरु होला, कोरोनाले गर्दा मानिसहरुको आर्थिक स्थिति पनि खस्केको छ । पहिले फेसनको लागि लगाउने गरे पनि अब जरुरत परेमात्र किन्न आउँछन्’ साजनले सुनाए ।

नारायणगढ मिलनरोडका ब्रुनाई सुनचाँदी पसलका सञ्चालक अर्जुन रसाइली चहलपहल बढे पनि व्यापार भने मध्यम रहेको बताउँछन् । चाडपर्वको बेलामा मौलिक गहनाको माग अत्याधिक रहेको रसाइलीले बताए । कोरोनाले थला परेको व्यवसायमा चाडपर्वले राहत दिनेमा उनी विश्वस्त छन् । ‘पहिलेपहिले चाडपर्वको बेलामा सुन बेचेरै नभ्याइने स्थिति थियो भने अहिले तीज र दशैँमा सन्तोषजनक नै छ’ रसाइलीले भने ।


नारायणगढको मिलनचोकमा सडक छेउमा लसुन बेच्न राखेकी निर्मला बस्ताकोटी बजारमा चहलपहल भएपनि व्यापार नभएको बताउँछिन् । ‘सबैसँग पैसा भए पो व्यापार हुनु, चहलपहल देखिएको मात्रै हो । कोरोनाले गर्नु ग¥यो । पहिलेको हे¥यो भने त आधा नि व्यापार छैन’ निर्मलाले सुनाइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट