`अरुलाई अरु नै रन्को, घरज्वाइँलाई खानकै रन्को’ भन्ने नेपाली उखान छ । यो उखानलाई चरीतार्थ गर्दै चितवनका निजी अस्पतालहरुले कोरोना महामारीकै बेला पारेर ओपिडी (बहिरंग) टिकट शुल्कमा २० देखि ४० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् । ओपिडी टिकट शुल्क पहिले पाँच सय रुपैयाँ लिइरहेका निजी अस्पतालले अहिले कतै छ सय त कतै सात सय लिइरहेका छन् । यो मूल्यवृद्धि अस्वाभाविक छ ।
एक त कोरोना महामारीकै बेला सेवा शुल्क बढाउनु नै गलत छ । दोस्रो, शुल्क बढाउनै पर्ने बाध्यता आएको भए पनि एकैपटक ४० प्रतिशतसम्म मूल्यवृद्धि गरिनुलाई स्वाभाविक मान्न सकिँदैन । एक्कासी दुई सय रुपैयाँ शुल्क बढ्दा सेवाग्राही मारमा परेका छन् ।
सरकारी अस्पतालमा उपचार गराउने चाहना भए पनि समयमै पालो नपाइने भएकाले निजी अस्पतालमा आउन बाध्य भएको भन्ने गुनासो गर्छन् निजी अस्पतालमा उपचार सेवा लिन आउनेहरु । सरकारी अस्पतालमा भनेजस्तो सेवा नपाउँदा निजीमा उपचार गराउनु पर्ने बाध्यता रहेको उनीहरु बताउँछन् ।
यहाँ भनेजस्तो सेवा भनेर स्वास्थ्य सेवा नभई स्वास्थ्य सेवा लिँदा हुने असहज अवस्थालाई इंगित गरिएको हो । सरकारी अस्पतालहरुमा सहजरुपमा छिटो सेवा पाउने हो भने उपचारका लागि सबैको पहिलो रोजाई सरकारी अस्पताल नै हुने थिए । त्यस्तो अवस्थामा निजी अस्पतालहरुले मनलाग्दी शुल्क बढाउने हिम्मत गर्न सक्ने थिएनन् । स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ । तर निजी अस्पतालको यो रवैयाले विपन्नलाई उपचार सेवाबाटै वञ्चित गराउने देखिन्छ ।
स्वास्थ्य बीमा गरेर सरकारी अस्पतालबाट सेवा लिइरहेकाहरुले झन्झटिलो प्रकृयाको कारण र कतिपय औषधी नपाएको कारण नवीकरण गर्न छाडेका छन् । सरकारी अस्पतालमा कर्मचारीको दरबन्दी बढाएर बिरामीलाई उपचार सेवा समयमै दिने वातावरण बन्ने हो भने निजी अस्पताल धाउने अधिकांश बिरामी सरकारी अस्पताल जाने थिए ।
चिकित्सक संघको शुल्क बढाउने निर्णय अनुसार ओपिडी शुल्क बढाइएको भन्ने निजी अस्पताल समन्वय समिति चितवनको भनाइ छ । समितिका अनुसार दुईदुई वर्षमा हुनु पर्ने मूल्य समायोजन २०७२ सालदेखि भएको छैन । त्यसो भन्दैमा एकैपटक ४० प्रतिशतसम्म मूल्यवृद्धि गर्नु न्यायसंगत हुँदैन । बर्सेनि १० प्रतिशत मूल्यवृद्धि गर्ने हो भने कसैको विरोध रहँदैन । एकैपटक धेरै मूल्यवृद्धि गर्नु उपभोक्ता अधिकारका हिसाबले पनि उपयुक्त छैन ।





