भरतपुर, २० असोज।
भरतपुर महानगरपालिका कृष्णपुरका बाबुराम तिवारीले चौबिसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा झण्डै तीन घण्टा कुरेर नयाँ नोट साटे । गैँडाकोटका लक्ष्मण ज्ञवालीले पनि दुई घण्टा कुरेर मात्रै नयाँ नोट हातमा परेको बताए । नयाँ नोट हातमा परेपछि दशैँको आगमन महसुस भएको उनीहरुले सुनाए ।

‘दशैँ आएपछि नयाँ नोटले छुट्टै उमंग दिन्छ । हामीलाई भन्दा पनि केटाकेटीलाई चाहिने भएकाले साट्न आएको हूँ’ नयाँ नोट साट्न आएका तिवारीले सुनाए । राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखाका निमित्त प्रबन्धक सन्तोष सोतीले सोमबारदेखि नयाँ नोट सटही सुरु भएको बताए । मंगलबारसम्म झण्डै पाँच सय पचास जनाले नयाँ नोट साटिसकेको उनले बताए ।

चितवनमा दशैँका लागि तीन करोड रुपैयाँ बराबरका नयाँ नोट आएको उनले जानकारी दिए । नयाँ नोट चितवन र आसपासका शाखाबाट सटही गरिएको उनले बताए । उनका अनुसार भरतपुरमा बुधबारसम्म सर्वसाधारणका लागि नयाँ नोट साटिने छ ।








