भरतपुर, ३० भदौ ।
सरकारले भूमि आयोग गठन गरेको छ । सरकारले आयोगको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरेको छ ।
यसअघि उनी कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । मोरङको कानेपोखरी गाउँपालिकाका निरौला कांग्रेस महासमिति सदस्य हुन् ।
आयोगको उपाध्यक्षमा भने सरकारले माओवादी समर्थक मीनेन्द्र खड्कालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष निरौलालाई पद तथा गोपनीयताको शपथ गराए । आजै आयोगका उपाध्यक्ष खड्काले पनि पदको शपथ लिएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए ।
गृह मन्त्रालय स्रोतका अनुसार आयोगमा अझै ३ विषयविज्ञ र २ सदस्य नियुक्त गर्न बाँकी नै छ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट बाँकी नियुक्ति गरिने सम्भावना छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले भूमि आयोग गठन र अध्यक्षमा निरौला तथा उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगमा ७ प्रदेशबाट १/१ जना सदस्य र संघीय सरकारले तोकेको सहसचिव सदस्यसचिव रहने प्रावधान छ ।





