चितवनको भरतपुर- १५ मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य चरम आर्थिक संकटको कारण एक महिनादेखि रोकिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण कार्य सुरु गरेको २ वर्षभित्र बनाएर हस्तान्तरण पनि गरिसक्ने सम्झौता गरेको थियो । सम्झौता भएको अढाई वर्ष बितिसक्दा अहिलेसम्म रंगशाला निर्माणको ३५ प्रतिशत काम मात्रै सकिएको छ । फाउण्डेसन र महानगरपालिकाबीच २०७५ माघ १६ गते शहीद दिवस अवसर पारेर सम्झौता गरिएको थियो । निर्माण कार्य सम्पन्न गर्न ३ अर्ब लाग्ने भनिएको रंगशाला निर्माणमा अहिलेसम्म ५४ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ । खर्चमध्ये १६ करोड २ लाख रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माण परियोजना गम्भीर आर्थिक संकटमा फसेको छ ।
फाउण्डेसनले अहिले जनस्तरबाट आर्थिक सहयोग लिन छोडेको छ । सुरुआतमा जुन गतिमा सहयोग जुटेको थियो, अहिले त्यस्तो छैन । जनस्तरबाट सहयोग जुट्न सम्भव नदेखेपछि फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएका छन् । व्यक्तिगत तथा संस्थागतरूपमा स्वतःस्फूर्त दिइएका सहयोग र धनधान्याचल महायज्ञबाट उठाइएको रकमले अहिलेसम्म काम गर्न सजिलो भएको थियो । त्यही गतिमा सहयोग आइरहने आशामा उधारोमा काम गरिएको थियो । तर, बिस्तारै सहयोग घट्दै गयो । बीचमा कोभिड महामारी आएपछि सबैको आर्थिक अवस्था चौपट भयो । अब जनतासँग हात थाप्ने अवस्था पनि रहेन । विगतमा अर्थ संकलनका लागि गरिएको धान्याचल महायज्ञमा रकम बोलेका अधिकांशले पैसा दिएका छैनन् । कैयौँ सरकारी तहबाटै बोलिएको पैसा पनि उठेको छैन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण एउटा महत्वाकांक्षी परियोजना हो । तीन अर्ब रुपैयाँको यो परियोजना परिकल्पना गरेको धुर्मुस सुन्तली फाउण्डेसनसँग परियोजना कल्पिँदा तीन लाख रुपैयाँ पनि थिएन । अरुसँग हात फैलाएरै तीन अर्ब जुटाउने साहस लिएको फाउण्डेसन अहिले निराश बनेको छ । कोभिड कहरले जनतालाई आर्थिकरुपले पनि जर्जर बनाएको छ । विगतमा महायज्ञमा बोलकबोल गरिएका रकम नै नउठेको सन्दर्भमा अब जनताबाट दुई अर्बभन्दा बढी रकम उठाउन त्यति सजिलो छैन ।
काम भइसकेको तर तिर्न बाँकी १६ करोड रुपैयाँ पनि चानचुने रकम होइन । यस्तो अवस्थामा फाउण्डेसनसँग दुई विकल्प बाँकी छन् । एक, अब सकिँदैन भनेर हात उठाउने र बाँकी निर्माण कार्य स्थानीय सरकारलाई सुम्पने । दुई, निर्माण कार्यको मोडल परिवर्तन गरी यसलाई जनता र सरकारको साझेदारीमा बाँकी निर्माण कार्य सम्पन्न गर्ने ।
रंगशाला निर्माण कार्य अलपत्र नहोस् । हामी सबै मिलेर बनाऔँ रंगशाला ।





