भरतपुर, २७ भदौ ।
रोजगारीका लागि इजरायल जाने श्रमिक छनाेट गर्न आज भाषा परीक्षा हुँदैछ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज दिउँसो १ बजेदेखि भाषा परीक्षा सुरु हुने वैदेशिक राेजगार विभागले जनाएकाे छ परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएको छ ।
परीक्षामा ७ हजार ९ जना सहभागी हुने विभागले जनाएकाे छ । भाषा परीक्षका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको विभागले जनाएकाे छ ।
प्राप्तांकका आधारमा १ हजार ६ सय जना छनाेट हुनेछन् । अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने छ । तीमध्ये १ हजार ४ सय जना मात्र गोला प्रथामा छानिने छन् ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार ३० प्रतिशत अर्थात ३ सय जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७ सय जना महिला कामदारले इजरायलमा रोजगारीको अवसर पाउने छन् । श्रमिकले १ हजार ६०० सय अमेरिकी डलर अर्थात् १ लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।
सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ ।





