भरतपुर, २७ भदौ ।
अन्नपूर्णा माध्यमिक विद्यालय भरतपुर-२१ पार्वतीपुर, चितवनमा समाजसेवी धनबहादुर सार्कीद्वारा आफ्ना स्वर्गीय पिता, माता, ठूलोबुवा र ठूलीआमाको स्मृतिमा रु. २ लाख १० हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष रकमको ब्याजबाट यस विद्यालयमा अध्ययन गर्ने अति विपन्न वर्गका विद्यार्थीहरुलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक बटुकलाल तमाङले बताए ।
पूर्वप्राथमिक तहबाट कक्षा १० सम्म अन्नपूर्णा माविमा अध्ययन गरेका धनबहादुर सार्की कक्षा- १० मा अध्ययनरत रहँदै गर्दा बेलायती सेनामा भर्ती भएका थिए । हाल अवकाश जीवनमा लण्डनमा सपरिवार बसोबास गरिरहेका समाजसेवी धनबहादुर आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी नेपाल वेलफेयर सोसाइटी संयुक्त अधिराज्य बेलायतका सभापति तथा एनआरएनए बेलायतका एनसीसी मेम्बर हुन् ।
कोभिड महामारीको बेलामा उनको अगुवाइमा २२ जिल्लामा राहत वितरण कार्यसमेत भएको थियो । यति बेला उनी भरतपुर महानगर, वडा नम्बर- २१मा अति विपन्न वर्गका १० घर परिवारलाई खानेपानीको धारो जडान गर्ने कार्यमा सक्रिय छन् ।
धनबहादुरले अति विपन्न परिवारका केही बालबालिकाहरुको समूहलाई निरन्तर अतिरिक्त कक्षा (ट्युशन कक्षा)को लागि समेत सहयोग रकम पठाउने वचन दिएको प्रधानाध्यापक तामाङले बताए ।





