सी डिभिजन क्वालिफायर खेल्ने बीएफसीको बिदाई

भरतपुर, २७ भदौ
भरतपुरको प्रतिष्ठित फुटबल क्लब सेन्ट्रल कलेज बिएफसी सी डिभिजन क्लालिफायर खेल्न काठमाडौँ गएको छ । सी डिभिजनमा प्रवेशका लागि काठमाडौँमा हुन लागेको प्रतियोगिता खेल्न विपिन मल्लको कप्तानीमा रहेको टोली आइतबार काठमाडौँ गएको हो ।

युवा खेलाडीहरूले भरिपूर्ण बिएफसीको टोलीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले फूलमाला लगाएर बिदा गरे । उक्त कार्यक्रममा मेयर दाहालले चितवनको प्रतिनिधित्व गर्दै सी डिभिजन मान्यता लिएर शानका साथ फर्कन टोलीलाई शुभकामना दिइन् ।

चितवन जिल्ला फुटबल संघ अध्यक्ष कार्कीले टिममा आफूले सम्भावना देखेको बताए । क्लबका शीर्ष प्रायोजक सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक वाईबी पौडेलले यसअघिका प्रदर्शनहरूका आधारमा क्लबबाट धेरै आशा गरेको बताए । क्लबका अध्यक्ष ऋषि थापाले मोफसलबाट काठमाडौँमा क्वालिफायर खेल्न आर्थिकरूपमा निकै कठिन भए पनि देशविदेशमा रहेका शुभचिन्तकले भरथेग गरेका कारण सम्भव भएको बताए ।

भरतपुर आधार क्षेत्र भए पनि यो क्लबले देशव्यापीरूपमा नकआउट फुटबल प्रतियोगिताहरू खेल्दै आएको छ । ती प्रतियोगितामा यो क्लबले प्रभाव छोड्ने गरेको छ ।

प्रमुख प्रशिक्षक कृष्ण कार्कीका अनुसार क्लबले नेपालका लगभग सबै ठूला गोल्डकपहरूमा सहभागिता जनाइसकेको छ । मेघौली राइनो गोल्डकप र ल्होसार कप चितवनको विजेता बिएफसी सिमरा गोल्डकप, राजश्री गोल्डकप, वागमती गोल्डकप, सूर्यनगर गोल्डकप बुटवल, सिरहा गोल्डकप लहान, रुपन्देही गोल्डकप, हेटौंडा गोल्डकप र माडी गोल्डकपमा उपविजेता बनिसकेको छ । “अब हामी डिभिजन लिगमा पनि सिँढी चढ्न चाहन्छौँ”, उनले भने ।

सी डिभिजनमा क्वालिफाइ हुन सजिलो भने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने यो क्वालिफायरमा ७८ टिम सहभागी छन् । त्यसबाट शीर्ष ३ टिम मात्रै सी डिभिजनमा बढुवा हुने छन् । बाँकी सबै टोलीले अर्कोचोटि पुनः प्रयास गर्नुपर्ने छ ।

एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब छन् । तालिका अनुसार १ क्लबले समूह चरणमा २ खेल खेल्नेछन् । बिएफसी समूह ‘पी’ मा छ । उसले २९ गते मनमैँजु क्लब काठमाडौँ र ३१ गते हिमालय क्लब कैलालीसँग खेल्ने छ ।

मोफसलका क्लबलाई काठमाडौँमा गएर खेल्न आर्थिक जोहो गर्न पनि गाह्रो हुन्छ । टिम व्यवस्थापक धुर्व भुषालले शीर्ष प्रायोजकसँगै स्थानीय व्यावसायिक प्रतिष्ठान र विदेशमा रहेका क्लबका शुभेच्छुकका सहयोगबाट खर्च जुटाउँदै आएको बताए ।

२०५८ सालमा स्थापित यो क्लबलाई विगत २ वर्षदेखि सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टर नारायणगढले शीर्ष प्रायोजन गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट