भरतपुर, २६ भदौ ।
नेपाली काँग्रेसका युवा नेता गणेश सापकोटाको `नेपाली राजनीतिमा नेपाली काँग्रेस´ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पुस्तकको विमोचन गरे ।
नेपाली काँग्रेस देवचुली नगर समितिले आयोजना गरेको बिपी स्मृति भवन उद्घाटन तथा कार्यकर्ता भेलामा प्रमुख अतिथि रहेका कोइरालाले पुस्तकको विमोचन गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सापकोटाले १४ औँ महाधिवेशनमा धेरै नयाँ पुस्ता स्थानीय स्तरमा काँग्रेसको नेतृत्वमा आएको हुँदा उनीहरुका लागि पुस्तकले काँग्रेसको मर्म बुझाउन सहयोग पुग्ने बताए ।
नेपालको राजनीतिक विकासक्रम, नेपाली काँग्रेसको इतिहास र विकासक्रम, काँग्रेसका महत्त्वपूर्ण काम र उपलब्धि, महाधिवेशनहरुका परिणामहरुलगायत आवश्यक सबै कुरा पुस्तकमा समावेश गरिएको काँग्रेस नेता सापकोटाले बताए । राजनीतिमा भाषण मात्र होइन केही नयाँ र रचनात्मक काम गर्नुपर्दछ भन्ने सोच राख्ने सापकोटाले गैँडाकोटमा यस अघि हरियाली कार्यक्रम चलाएका थिए ।
नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य समेत रहेका सापकोटाले लेखेको पुस्तकले नेपाली काँग्रेसको विगतदेखि वर्तमानसम्मको सम्पूर्ण इतिहास, सिद्धान्त र मूल्यमान्यताबारे सरल र सहज ढंगले बुझ्न चाहने जोकसैका लागि पनि यो कृति ज्यादै उपयोगी रहेको पुस्तकका भाषासम्पादक सदस्य उपप्राध्यापक पीताम्बर सापकोटाले बताए ।





