भरतपुर, २६ भदौ ।
डिभिजन वन कार्यालय, चितवनले पछिल्लो तीन आर्थिक वर्षमा विभिन्न प्रजातिका ६ लाख २६ हजार ६६५ वटा रुखका बिरुवा रोपेको छ । कार्यालयको नियमित कार्यक्रमको रूपमा उसले प्रत्येक वर्ष आफैँ बिरुवा उत्पादन गर्दै वृक्षारोपण गर्ने कार्य गर्दै आएको छ ।
कार्यालका सूचना अधिकारी बालकृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै कार्यालयले २ लाख ५० वटा बिरुवा हुर्काएर वितरण तथा वृक्षरोपण गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५/७६ मा १ लाख ७१ हजार ६६५ तथा आ.व. २०७७/७८ मा २ लाख ५ हजार बिरुवा वितरण तथा वृक्षरोपण गरिएको तथ्यांक कार्यालयसँग रहेको छ ।
पछिल्ला दुई आर्थिक वर्षमा कार्यालयले विभिन्न प्रजातिका फलफूलका ९३ हजार ९२२ वटा बिरुवा समेत वितरण गरेको जनाएको छ । वितरण गरिएका फलफूलका बिरुवा कार्यालय आफैँले खरिद गरेको अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यालयले आ.व. २०७६/७७ मा ३६ हजार १९७ वटा तथा आ.व. २०७७/७८ मा ५७ हजार ७२५ वटा फलफूलका बिरुवा खरिद गरी वितरण गरेको थियो । अधिकारीका अनुसार कार्यालले आँप, लिच्ची, कटहर, अभोगाडो, किवी, कागती, सुन्तला, ड्रागन फ्रुट, मेकाडेनिया लगायतका फलफूल खरिद गरी वितरण गर्ने गरेको छ ।
वन कार्यालयले हरेक वर्ष लाखौँ रुपैयाँ खर्च गरी फलफूल तथा अन्य रुखका बिरुवाको रोपण तथा वितरण गर्दै आएको भएपनि वृक्षरोपण खासै प्रभावकारी बन्न नसकेको सूचना अधिकारी बालकृष्ण अधिकारीले बताए । “हामीले फलफूल तथा अन्य बोटका बिरुवा वितरण गर्दा तिनको उमेर जम्मा एक देखि दुई महिनाको भएको हुन्छ । रोपिएका सबै बिरुवा हुर्कन सोही अनुसारको वातावरण चाहिने हुन्छ”, अधिकारीले थप्दै भने, “पूर्ण रूपले विकसित नभइसकेको अवस्थामा बिरुवा मर्ने भएकाले वृक्षरोपण प्रभावकारी हुन नसकेको हो ।”
महालेखापरीक्षकको कार्यालयले वाग्मती प्रदेशअन्तर्गतका कार्यालयहरूको लेखापरीक्षण गरी सार्वजनिक गरेको प्रतिवेदनमा डिभिजन वन कार्यालय, चितवनले आर्थिक वर्ष २०७६/७७ मा १३ लाख २७ हजार रुपैयाँको आँप, लिच्ची र कागतीका १९ हजार बिरुवा खरिद गरी सामुदायिक वन, कबुलियत वन, विद्यालय, संघसंस्था एवं व्यक्तिहरूलाई वितरण गरेको उल्लेख छ । महालेखाले फलफूलको बिरुवा वितरण गरेपछि तिनको उपयोग तथा संरक्षणका सम्बन्धका अनुगमन गरी प्रतिवेदन तयार पार्न सुझाव पनि दिएको छ । यद्यपि वितरित सबै बिरुवाको संरक्षण गरिएको/नगरिएको सम्बन्धमा अनुगमन गर्न सकिने अवस्था नरहेको अधिकारीले बताए ।
“जिल्लाभित्र रहेका संघसंस्था तथा सामुदायिक वनहरूलाई वितरण गरिएका बिरुवाका हकमा हामीले अनुगमन गरिरहेकै हुन्छौं । व्यक्तिलाई वितरण गरिएका बिरुवाहरू जिल्ला बाहिरका नागरिकले पनि लैजाने हुँदा ती बिरुवाको अनुुगमन गर्न कठिनाइँ रहेको छ”, अधिकारीले बताए । उनका अनुसार कार्यालयले वितरण गरेको बिरुवाहरू आ.व. २०७५/७६ मा २० हेक्टर, २०७६/७७ मा २२ हेक्टर र २०७७/७८ मा २६ हेक्टर क्षेत्रफलमा रोपिएका थिए । तथ्यांकले पछिल्लो ३ वटा आर्थिक वर्षमा ६८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको देखाएपनि त्यो पूर्ण रूपमा साँचो नभएको अधिकारी बताउँछन् । “बिरुवाहरू एकै ठाउँमा रोपिएका हुन्थे भने यति क्षेत्रफलमा बिरुवा रोपिएको भन्ने स्पष्ट जानकारी हुन्थ्यो । तर बिरुवाहरू एउटा–एउटा गरेर धेरै ठाउँमा समेत रोपिएका हुँदा कूल क्षेत्रफल फरक पर्ने सम्भावना रहेको छ”, अधिकारीले जानकारी दिए ।




