पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल दुस्प्रचारका लागि प्रयोग हुन थालेको भान हुन थालेको छ । आजकल सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सेयर गर्ने विभिन्न खालका समाचारहरू किन विश्वसनीय हुन छाडेका होलान् त ? मलाई यो कुराको निकै कौतुहलता जागिरहेको थियो ।
मैले घरको काम सकेर यसो फेसबुक खोलेकी मात्र के थिएँ आँखा अगाडि एउटा लिंक देखा परिहाल्यो । लिंकमा यस्तो लेखिएको थियो “शम्भु थापाको निधन । खुइली किन बसिन् किरिया ? के थियो सम्बन्ध ?“ किरिया बसेको फोटो पनि लिंकमा देखाइएको थियो । त्यहाँ भित्र के रहेछ भनेर लिंकमा क्लिक गरेँ तर भित्र केही पनि थिएन ।
कोरोना संक्रमित भई उपाचार गराइरहेका चलचित्रकर्मी शम्भु थापाको मृत्युले सबैलाई अवाक् बनायो । उनले विभिन्न चलचित्र तथा टेलीफिल्ममा बेजोड अभिनय प्रस्तुत गरेका थिए । मदनबहादुर हरिबहादुर, मेरी बास्सै, गोलमाल, हल्का रमाइलो, जस्ता टेलिफिल्ममा अभिनय गरेका उनको नाम रुचाइएका कलाकार अन्तर्गत नै पर्न आउँथ्यो । उनको मृत्युपश्चात् कलाकारिता क्षेत्र नै शोकमा डुबेका बेला केही अनलाइन न्यूज पोर्टलले यसलाई आफ्नो भ्यूज बढाउने अवसरका रूपमा प्रयोग गरे ।
थापाको मृत्युलाई टेलिचलचित्रको कुनै सानो अंशसँग जोडेर समाचार जस्तो गरी सामाजिक सञ्जालमा पोष्ट गर्दा म पनि अरुझैँ झुक्किन पुगेँ । जसरी माछालाई छोप्न बल्छी थापिन्छ, त्यसरी नै पेजको भ्यु बढाउन पनि यस्ता लिंकको प्रयोग अनलाइन सञ्चालकहरूले गरिरहेका हुन्छन् ।
दर्ता नभइकनै चलिरहेका केही अनलाइन साइटले विश्वास गर्न नसकिने खालका लिंक राखेर आम मानिसलाई भ्रममा पार्ने गरेका छन् । समाचार मिथ्या भएको वा नभएको केलाउन मिडिया साक्षरताको आवश्यक पर्दछ । मिडिया साक्षरता के हो भन्ने कुरा पत्रकारिता पेशा अपनाइरहेकाले मात्र नभएर आम मानिसले बुझन जरुरी छ ।
भिडियो सेयरिङ एप युट्युबको ट्रेन्डिङको सूचीमा भेट्टाइने कतिपय हत्या, हिंसा, बलात्कार र घरझगडासम्बन्धी भिडियो सामग्रीले अवस्थालाई साम्य पार्नुको साटो झन् बल्झाउने काम गरिरहेका छन् । जसकारण धेरैको घरबार बिग्रिएको घटनाहरू पनि सार्वजनिक हुन थालेका छन् । यस्ता खालका भिडियो र लिंक बढी हेर्ने भनेको प्रायः पुरुषले भन्दा महिलाले नै हो । त्यसले परिवारमा बिस्तारै कलह र विवादको सृजना गरिदिन्छ ।
हो, सबै अरुको घरभित्रका कुरा थाहा पाउन उत्सुक हुन्छन् । वास्तवमा त्यस्ता भिडियोमा देखाइएका घटनामा पीडितले न्याय पायो कि पाएन अनि अपराधीले सजाय पायो कि पाएन भन्नेतर्फ हाम्रो चासो खासै रहँदैन ।
केही समय अघि विजय शाही नाम गरेका एक युवा मेमोरी किंगको नामले चर्चामा आए । कुनै पनि किताब केही बेर हेरेको भरमा त्यहाँ लेखिएका हरेक कुरा स्मरण गर्न सक्छन् भनी शाहीलाई चिनाइएको थियो । अजिव आवाज निकालेर उनी किताब पढेजस्तो गर्थे । त्यसपछि फलानो पृष्ठमा के लेखिएको छ भनेर सोधिन्थ्यो । उनले त्यो पृष्ठमा लेखिएका कुरा हुबहु कागतमा लेखेर देखाउँथे । यहाँसम्म कि अनुच्छेदको कहाँ फुलस्टप/पूर्णविराम छ, कहाँ अल्पविराम चिन्ह भन्ने समेत उनलाई थाहा हुन्थ्यो । यही कला भनौं या चर्तिकलाले शाही नेपालमा मात्र नभएर विदेशतिर रहेका नेपालीमाझ पनि परिचित व्यक्ति हुन पुगे । कतिपयले शाहीलाई आदर्श व्यक्ति मान्न समेत भ्याएका थिए । अनि कतिपयले शाहीलाई नेपालको राष्ट्रिय गहना पनि ठाने । त्यसमा पनि प्रत्यक्ष भेटेर होइन कि युट्युबमा प्रसारित भिडियो हेरेकै भरमा मान्छे उनीबाट प्रभावित हुन थालेका थिए । पछि कुनै एउटा युट्युबरले आफ्नो च्यानलको प्रचार गर्न शाहीलाई नक्कली रेकर्ड होल्डरको रूपमा उभ्याएको पोल खुलेसँगै शाहीको चर्चा एकाएक सेलाउन पुग्यो ।
यहाँ बुझ्नुपुर्ने कुरा के छ भने क्षणभरमै कुनै मिडियाले कुनै पनि व्यक्तिलाई भाइरल बनाउँछ भने कुनै व्यक्तिलाई सिध्याउन पनि सक्छ । अहिलेका धेरैजसो मिडियाले कसैलाई उचाल्ने र कसैलाई पछार्ने अभ्यास अँगालेका छन् ।
हामी यस्ता समाचार र हावादारी कुराहरूमा एकदमै चाँडो विश्वास गछौँ । हाम्रो मनोविज्ञानलाई त्यस्ता कुराले सहजै झुक्याउने गरेको पाउँछु । भ्रम फैलाउने त्यस्ता भिडियो र लिंकहरू सजिलै चर्चामा आउनका लागि युट्युबरले गरेको खेती पनि हुनसक्छ भन्ने बुझ्न आवश्यक भएको छ । हामी त्यस्ता भिडियोहरू झन् खोजीखोजी हेर्छौं । वास्तविकता के हो, त्यो भने हामीलाई रत्तिभर थाहा हुँदैन ।
यी प्रसंगहरू त केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालका प्रयोगकर्तालाई बल्छी थाप्न यस्ता लिंक र भिडियो सामाजिक संजाल र अनलाइन माध्यममा हरेक दिन जसो पोष्ट र सेयर हुने गरेका छन् ।
समाचार सधैं वास्तविकता, सत्यता र तथ्यमा आधारित हुनुपर्छ । सामाजिक सञ्जालमा हरेक मिनेट मिनेटमा सेयर हुने कुराहरू साँचो हुन् कि झुटा हुन् भन्ने कुरा जाँच्ने क्षमता अब हरेक प्रयोगकर्तामा हुन जरुरी छ । सामाजिक सञ्जालमा कसैले कुनै कुरा सेयर वा पोष्ट गर्नुको पछाडि उसको उद्देश्य समाजलाई दिग्भ्रमित तुल्याउनु र अराजकता निम्त्याउनु मात्र रहेको हुनसक्छ भन्नेतर्फ पनि सबैले मनन गर्न जरुरी भएको छ ।
(चालिसे स्नातक तहमा पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन गरिरहेकी छिन् ।)




