काठमाडौँ, २५ भदौ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गरेका छन् । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
प्रतिस्थापन विधेयकमा पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालू खर्च र आन्तरिक ऋणको परिमाण घटाइएको छ ।
अर्थमन्त्री शर्माले कोरोना भाइरस महामारीका कारण प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरोत्थानका लागि बजेट अभाव हुन नदिने बताएका छन् । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए । मन्त्री शर्माले सरकारले कोभिड-१९ विरुद्धको खोप सबै नेपालीलाई लगाउने व्यवस्था गर्ने गरी बजेटको सुनिश्चितता गरेको बताए ।
अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उनले अब करिब तीन करोड मात्रा खोप प्राप्त हुने क्रममा रहेको बताए ।
“कोभिड–१९ नियन्त्रणमा स्रोतको अभाव हुन नदिन सरकार प्रतिबद्ध छ, त्यसका लागि वैदेशिक स्रोतको समेत व्यवस्था गरेको छु”, भाषणका क्रममा उनले बताए ।




