माधव नेपालको समूहबाट अलग्गिए तेजेन्द्र, नेकपा एस चितवनको अध्यक्षमा कृष्णराज

भरतपुर, २५ भदौ ।
चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए ।

शुक्रबार नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दा सँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह गरेका थिए । उनी २०७३ मा एमाले चितवनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

खड्का एमाले चितवनकै पुरानो जिम्मेवारी पाउने सुनिश्चित भएपछि उनी माधव पक्षीय दलबाट टाढिएको स्रोतको दावी छ । नेकपा एमाले चितवनको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बैठक यही २८ गते विहान ११ बजे मदननगरमा बस्दैछ ।

नेपाल समूहको समानान्तर कमिटी गठनपछि एमालेकी तत्कालीन सचिव पार्वती रावलले एमाले चितवन अध्यक्षका रूपमा काम गर्दै आएकी थिइन् । १० बुँदे सहमतिका २०७५ जेठ २ अघिका संरचना व्युँताउने भएपछि चितवनमा तत्कालीन एमालेका संरचनाहरु पुरानै अवस्थामा चल्ने संकेत देखिएका छन् । खड्का अलग्गिएपछि नेकपा (एकिकृत समाजवादी) चितवनको अध्यक्षको जिम्मेवारी डा. कृष्णराज पन्तलाई दिइएको छ । पन्त २०५८ सालमा एमालेको जिल्ला सचिवालय सदस्य, क्षेत्र नम्बर १ को इञ्चार्ज हुन् ।

पन्तको नेतृत्वमा नेकपा (एस) चितवनको २ सय २३ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज लब्ली न्यौपाने, सचिवमा केपी लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्य चयन भएका छन् । यस्तै ५ सदस्यीय सचिवालय सदस्यहरुमा खोमकान्त रेग्मी, नरेन्द्र कन्दङवा, प्रेमराज तिमिल्सिना, विष्णुराज महतो, विष्णुहरी तिवारी छन् ।

भरतपुर महानगर-२२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा १ सय ६८ सदस्यीय भरतपुर महानगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा केशवराज पोखरेल, सहसचिवमा शोभा पण्डित रहेका छन् । सचिव पदमा पछि मनोनित हुने जनाइएको छ । जिल्ला र महानगर कमिटी दुवैलाई केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेले सपथग्रहण गराए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट