भरतपुर, २४ भदौ ।
पछिल्ला वर्षहरूमा नेपालमा पनि सामाजिक सञ्जाल अर्थात् सोसल नेटवर्किङ साइटका प्रयोगकर्ताको सख्या बढ्ने क्रममा रहेको छ । कुनै समय सीमित वर्गले मात्रै प्रयोग गर्ने गरेको यस्ता इन्टरनेट सुविधा हाल अधिकांशले उपयोग गरिरहेका छन् । सोसल साइटहरूमा प्रयोगकर्ताको संख्या बढ्न थालेसँगै तिनको दुरुपयोग र ती माध्यमबाट हुनसक्ने सम्भावित अपराधको जोखिम पनि बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सामाजिक सञ्जालमार्फत जो कोहीले पनि आफ्नो विचार व्यक्त गर्न सक्ने भएकाले फेसबुक, ट्वीटर, युट्युब, आदि साइटहरूले दिनप्रतिदिन लोकप्रियता हासिल गरिरहेका छन् । आफ्नो मत वा विचार व्यक्त गर्ने क्रममा प्रयोगकर्ताले सामान्य आचारसंहितामा ध्यान नदिँदा सामाजिक सञ्जाल नै असामाजिक बन्ने हो कि भन्ने डर पनि पैदा हुन थालेको छ । सामाजिक सञ्जालमा ट्रोल (ठट्टा)को नाममा कसैको मजाक उडाउने, बेइज्जती गर्ने वा प्रतिष्ठामा आँच आउने सामग्री फैलाउने जस्ता कार्यहरू दैनिक जसो नै हुने गरेका छन् । यस्ता कार्यको शिकार मुख्यतः अल्पसंख्यक, अपाङ्ग, महिला तथा बालबालिकाहरू हुने गरेका छन् । यस्तै राजनीतिमा लागेका व्यक्तित्वहरूलाई समेत लक्षित गरी सामाजिक सञ्जालमा घिनलाग्दा टीकाटिप्पणी तथा प्रतिक्रिया राखिने गरेका छन् ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ ले कसैले कसैलाई गाली गर्न नहुने र कसैको बेइज्ज्ती समेत गर्न नहुने बताएको छ । संहिताको दफा ३०५ र ३०६ ले त्यस्ता कार्य गर्नु वा गराउनुलाई दण्डनीय मानेको छ । संहितामा कसैलाई गाली गरेमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । यस्तै कसैले कसैको बेइज्जती गरे/गराएमा कसुर गर्नेलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि संहितामा उल्लेख गरिएको छ । त्यसका साथै विद्युतीय कारोबार ऐन, २०६३ मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने खालका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने, अमर्यादित कार्य गर्ने, आदि कार्य गरे/गराएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
कानूनले कसूरका रूपमा स्थापित गरेका कार्य दिनप्रतिदिन बढ्दै जानु सबैका लागि सोचनीय विषय भएको नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी निरीक्षक सन्तोष पन्त बताउँछन् । “कानूनले कसूर मानेको कार्य बढ्दै जानुले एकातिर कानूनको उपहास गरेको अवस्था छ भने अर्कोतिर भोलिका दिनमा अन्य कानूनहरू पनि नमान्दा के हुने भन्ने ठूलो प्रश्न खडा हुन सक्छ”, पन्तले भने । हाल कम्प्युटर तथा इन्टरनेटको प्रयोग गर्ने अधिकांश बालबालिकाहरू सामाजिक सञ्जालमा गाली बेइज्जती भए गरेको देखेर हुर्कँदा उनीहरूको मनोविज्ञानमा नकारात्मक असर पुग्ने उनको तर्क थियो ।
“सामाजिक सञ्जालमा जे देख्यो, बालबालिकाले त्यही कुरा टिप्छन् । भोलि बालबालिकाहरूमा पनि गालीगलौज गर्ने बानी बस्यो भने त्यसले समाजलाई कस्तो बनाउला ?”, पन्तले अगाडि थपे, “सामाजिक सञ्जालमा हुने गरेका अमर्यादित व्यवहारले मानिसलाई आत्महत्याको बाटो समात्न पनि बाध्य पार्न सक्छ भने अन्य अपराधको कारण समेत बन्न सक्छ । सामाजिक सञ्जालको प्रयोगमा भइरहेका विकृतिहरूलाई जति सक्दो चाँडो नियन्त्रण गर्न सकिएन भने भोलि सबै यसबाट पीडित भइन्छ ।”
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको भीड बढेसँगै जोखिम पनि बढेको बताउँछन् । “सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट गरिने क्रियाकलापहरूको दर दैनिक बढ्ने क्रममा छ । त्यसले अनलाइन क्षेत्रको सुरक्षामा पनि प्रभाव पार्ने सम्भावना रहेको हुन्छ”, प्रहरी नायब उपरीक्षक थापाले भने । आफूलाई मन नपर्ने व्यक्तिको तस्बिर वा भिडियोलाई बिगारेर सञ्जालमा अपलोड गर्ने खराब अभ्यास पछिल्ला दिन बढिरहेका छन् । पूर्वप्रेमिकासँग बदला लिन प्रेमीले उसका गोप्य भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने गरेको धेरै घटनाहरू सुन्नमा आउने गरेका छन् । कानूनका बारेमा जानकारी नहुँदा एवं संकोच र डरका कारण पनि पीडितले यस्ता घटनाको उजुरी गर्न प्रहरीसम्म पुग्दैनन् । जसकारण पीडकलाई थप अपराध गर्न प्रोत्साहन मिल्ने गरेको छ ।
सामाजिक सञ्जालमा घृणा तथा द्वेष फैलाउने कार्यहरू मुख्यतः फेक एकाउण्टबाट हुने गरेको इन्टरनेट प्रयोगकर्ता इसिता बराल बताउँछिन् । “फेक प्रोफाइल बनाएर कमेन्टमा फोहोरी गाली गर्ने गरेको उदाहरण थुप्रै देखेकी छु । महामारीका कारण सबै कुरा अनलाइनमा हुन थालेका छन् । अनलाइनलाई सुरक्षित बनाउने धेरै उपायमध्ये झुटा एकाउण्ट बनाउनेलाई कारवाही गर्नु पनि एउटा हुन सक्छ”, बरालले बताइन् ।
सामाजिक सञ्जालमा पछिल्ला दिन चाहिने भन्दा धेरै जानकारी सेयर गर्ने क्रम पनि बढ्न थालेको छ । प्रयोगकर्ताहरूले सेयर बजारमा आइपीओ परे/नपरेको, ज्वरो बढेकोदेखि खाना र खाजामा के खाएको भन्ने कुरा समेत सामाजिक सञ्जालमा बताउने गरेका छन् । यस्ता सामान्य विवरण समेत सामाजिक सञ्जालमा पोष्ट गर्दा आफू खतरामा पर्न सकिने क्लिनिकल साइकोलोजिष्ट हसना श्रेष्ठ बताउँछिन् । “सामाजिक सञ्जालमा खराब मनसाय भएको व्यक्तिले समेत तपाईलाई नियालिरहेको हुनसक्छ । केही गरी उसले तपाईबारे गोप्य जानकारी हात पा¥यो भने तपाई नै जोखिममा पर्नसक्ने सम्भावना रहन्छ”, श्रेष्ठले बताइन् ।
सोसल साइटले लतको रूप लिँदै
सामाजिक सञ्जालमा लामो समय बिताउँदा बालबालिका तथा युवायुवतीमा त्यसले लतको रूप लिएको क्लिनिकल साइकोलोजिष्ट हसना श्रेष्ठ बताउँछिन् । “सामाजिक सञ्जाल सुरुसुरुमा चलाउँदा राम्रो लाग्ने गर्छ । तपाईले सेयर गरेका पोष्ट र फोटामा लाइक आउँछन् । त्यसले तपाईलाई केही समय खुशी बनाउँछ”, साइकोलोजिष्ट श्रेष्ठ बताउँछिन् । त्यही लाइक पाउनका लागि प्रयोगकर्ताले फेसबुक तथा टिकटकमा धेरै समय बिताउन थाल्छन् । फलस्वरूप उनीहरूमा त्यसको लत देखिन थाल्ने उनी सुनाउँछिन् ।
“सामाजिक सञ्जालको लतमा फसेपछि त्यसलाई छाड्न मुस्किल नै हुन्छ । लतले गर्दा परिवार तथा समाजसँग घुलमिल हुन नरुचाउने, एक्लै बस्न खोज्ने, जस्ता समस्या देखिन थाल्छन्”, उनी थप्छिन्, “सोसल साइटको लतको कारण व्यक्तिको सोच्ने क्षमता र बौद्धिक स्तरमा पनि ह्रास आउँदै जान्छ ।” बालबालिकालाई त्यस प्रकारको लतबाट जोगाउन अभिभावकको महत्त्वपूर्ण भूमिका हुने उनी बताउँछिन् । “इन्टरनेटमा अनलाइन कक्षा बाहेक बालबालिकाले अरु केके चलाउँछन्, त्यसमा पनि अभिभावकले ध्यान दिन जरुरी हुन्छ । बरु बालबालिकासँग घर बाहिर खेल्ने वा अन्य कुनै मनोरञ्जनात्मक कुरा गराएर इन्टरनेट गेम वा सोसल साइटको लतबाट टाढा राख्न सकिन्छ”, श्रेष्ठले सुझाइन् ।




