भरतपुर, २३ भदौ ।
भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीजलाई सम्पूर्ण हिन्दू महिलाहरूको प्रमुख व्रतका रूपमा लिइन्छ । परापूर्वकालमा भगवान् शिव पति पाऊँ भनी पार्वतीले तीजको व्रत बसेकी र सोही व्रतका प्रभावले महादेवलाई पतिका रूपमा पाएकी भन्ने पौराणिक कथाका आधारमा अहिले पनि महिलाहरूले व्रत बस्दै आएका छन् । भगवान् शिवका शक्तिपीठमा पूजाआजा गरी साथीसँगी भेला भएर दिनभर नाचगान गर्ने प्रचलन नेपाली समाजमा रहेको छ ।
तीजका दिन निराहार व्रत बस्न तागत मिलोस् भनेर महिलाहरूले अघिल्लो दिन दर खाने गरेका छन् । पछिल्ला केही दशकयता भने दर खाने दिन सप्ताहव्यापी कार्यक्रम जस्तै बन्न थालेको छ । यस्तै देशका प्रमुख शहरहरूमा नयाँनयाँ होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरू थपिन थालेपछि त्यसले दर खाने चलनमा विकृति मिसाइदिएको छ । तीज आउनभन्दा हप्तौँअघिदेखि रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा खाइने अनियन्त्रित दरले चाडपर्वलाई झन् खर्चिलो त बनाइदिएको छ नै, साथमा महिलाहरूको स्वास्थ्यमा समेत असर पु¥याउने गरेको छ ।
भलै कोरोना भाइरस महामारीका कारण अघिल्लो वर्ष देशव्यापी बन्दाबन्दी हुँदा तीज लक्षित दर खाने कार्यक्रम पनि प्रभावित भएका थिए । यस वर्ष पनि महामारीको दोस्रो लहर चलिरहेको परिप्रेक्ष्यमा स्थानीय प्रशासनले लामो निषेधाज्ञा जारी गरेको थियो । हाल संक्रमण दर केही कम भएको भन्दै प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ भने केही प्रतिबन्धलाई फुकुवा गर्न थालेको छ । तीज नजिकिँदै गर्दा माइतीघरका परिवारले छोरीचेलीलाई बोलाएर तथा महिलाहरू आफैँ पनि समूहमा भेला भई दर खाने कार्यक्रमको आयोजना गर्न थालिसकेका छन् । कोरोना महामारी नियन्त्रणोन्मुख रहेपनि जनस्वास्थ्यको मापदण्डको पालना गर्नुपर्ने देखिन्छ । साथमा जथाभावी रूपमा खानेकुरा खाँदा स्वास्थ्यमा देखिन सक्ने जटिलताका बारेमा पनि महिलाहरूले विशेष ध्यान पु¥याउनु आवश्यक रहन्छ ।
दर खाने दिन महिलाहरूले बिहानदेखि अबेर रातसम्म विभिन्न प्रकारका खानेकुरा खाँदा सचेतता अपनाउनुपर्ने खाद्यविद् श्रद्धा खनाल बताउँछिन् । “खानामा भएको घ्यूको सामान्य मात्राले स्वास्थ्यमा खासै फरक पार्दैन । तर डाल्डा हालेको खानेकुरा भने नखाएकै राम्रो हुन्छ । डाल्डाको साटो बरु तोरी वा सूर्यमुखी तेलको प्रयोग गर्न सकिन्छ”, उनले भनिन् । महिलाहरूले खाने दरमा सकेसम्म सबै प्रकारका खाना बराबर मात्रमा हुनुपर्ने खाद्यविद् खनालको भनाइ छ । “दर खाने भनेर मासु मात्रै वा खिरैखिर मात्रै खानुहुँदैन । तपाइँले खाने खानामा फलफूल तथा तरकारीको पनि मात्रा हुनुपर्छ । यी सबै खानेकुरा बराबर गरी खाने हो भने शरीरलाई हानि पनि हुँदैन”, उनले थपिन् । खानामा रेसादार फलफूल वा तरकारी हुनु स्वास्थ्यका दृष्टिकोणले पनि अपरिहार्य रहेको उनले बताइन् ।
मासुजन्य खानेकुरा खाँदा भने उसिनेर साँधेको मासु मात्रै खानुपर्ने तर्क उनले राखिन् । भुटेको मासुमा चिल्लोपनको मात्रा बढी हुने भएकाले त्यसले अपच, फुड पोइजनिङ वा पखाला गराउन सक्नेतर्फ पनि उनले सचेत गराइन् । “दर खाँदा सकेसम्म घरमा आफैँले तयार गरेको खानेकुरा मात्रै खानुपर्छ । आफूले बनाएको जस्तो स्वच्छ बाहिरबाट ल्याएको खाना नहुन पनि सक्छ”, उनी सुनाउँछिन् ।





