काठमाडौँ, २१ भदौ ।
सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मंगलबार ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, संमृद्धि र सुशासन’ भन्ने नारासहित निजामती सेवा मनाइँदैछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड१९ रोगको महामारी फैलिरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी आ–आफ्नै कार्यालयमा सम्भव हुने कार्यक्रम मात्रै गरेर दिवस मनाउन आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न आयोजनाहरूका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने, नेपालको लोकतान्त्रिक आन्दोलन र प्रजातन्त्र स्थापनाका योद्धा वीपी कोइरालाको स्मृतिमा राष्ट्रिय पुरस्कार स्थापना गर्ने लगायत निर्णयहरू गरेको छ ।
त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम र स्वास्थ्य क्षेत्र सुधारका लागि सहुलियतपूर्ण ऋण स्वरूप प्राप्त हुने ५०–५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका समेत स्वीकृत गरेको इकान्तिपुरले जनाएको छ ।
(इकान्तिपुरको सहयोगमा)




