विद्यालय खोल्न हतार नगरौँ

कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउनुपूर्व संक्रमितको संख्यामा कमी आएको थियो अहिलेजस्तै । के अहिले संक्रमितको संख्या घट्दै जानुले तेस्रो लहरको संकेत गरेको हो ? यसै भन्न सकिने अवस्था छैन । कोरोना संक्रमितको संख्या दिनहुँ घटिरहेको अहिलेको अवस्था आँधी आउनुपूर्वको सन्नाटा जस्तै हुन सक्छ । त्यसैले अर्थतन्त्रका अरु क्षेत्र खुल्ला गरिएजस्तो विद्यालय क्षेत्र खोल्न भने हतार नगर्नु नै बुद्धिमानी हुनेछ ।

चितवन जिल्लास्थित कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी) ले असोज १ गतेपछि जिल्लाभित्र रहेका विद्यालयहरू सञ्चालन गर्न सकिने संकेत देखाएको छ । चितवन पनि कोरोना भाइरसको जोखिमयुक्त जिल्लाहरूको सूचीमा परेपछि वैशाख ७ गतेदेखि जिल्लाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएका थिए । करिब पाँच महिनापछि नयाँ संक्रमित पुष्टि हुने दरमा कमी आएको भन्दै जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनका लागि बाटो खोलिदिएको छ । प्रशासन कार्यालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेख गरिएको मापदण्ड पालना हुने र जोखिम नहुने विधिको सुनिश्चितता गरेर मात्रै विद्यालय सञ्चालन गर्न पाइने जनाएको छ ।

प्रशासनले शनिबार जारी गरेको आदेशमा स्मार्ट लकडाउन कार्यविधि २०७८ मा उल्लिखित वस्तुगत सूचक अनुसार जोखिमको विश्लेषण गर्दा विद्यालय सञ्चालन गर्न सकिने अवस्था रहेका खण्डमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा सम्बन्धित स्थानीय तहले डिसीएमसीसँग समन्वय गरी पठनपाठनको निर्णय गर्न सक्ने भनिएको छ । तर विद्यालय क्षेत्र खुला गर्न हतार नगर्नु नै बुद्धिमानी हुनेछ । किनकि शिक्षकहरुले कोरोनाविरुद्धको खोप लगाए पनि विद्यालयका विद्यार्थीहरुले खोप लगाउन पाउने अवस्था छैन । १८ वर्ष मुनिकालाई खोपको विकास नभइसकेकोले विद्यार्थीलाई जोखिममा पारेर विद्यालय खोल्नु उचित हुँदैन ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ, स्वास्थ्य कार्यालय तथा जिल्लाका सातै स्थानीय तहका शिक्षा महाशाखाका प्रमुखहरूको डिसीएमसीसँग शुक्रबार बैठक बसेको थियो । बैठकले भदौ महिनाको बाँकी अवधिमा संक्रमणको अवस्थालाई हेरेर विद्यालय सञ्चालन गर्ने/नगर्ने टुंगोमा पुग्ने निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांकलाई हेर्दा संक्रमणको दर घटेको देखिन्छ । बाँकी १०–११ दिनमा जस्तो परिस्थिति बन्छ, त्यही अनुसार विद्यालय खोल्ने/नखोल्ने टुंगोमा पुगिने बताइए पनि विद्यालय खोल्न किन हतार गर्ने ? भोलि विद्यालय क्षेत्रबाटै कोरोना संक्रमण अनियन्त्रित भएर बालबालिकाको ठूलो संख्या कोरोना संक्रमणको चपेटामा आयो भने को जवाफदेही बन्ने ? त्यसैले विद्यालय खोल्न हतार नगरौँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट