भरतपुर, १० भदौ ।
रामेश्वर पुस्तकालयले दुई दिने कला उत्सव सम्पन्न गरेको छ । `सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र बिस्तार´ भन्ने मूल नाराका साथ १४औँ पुस्तकालय दिवसका सन्दर्भमा रामेश्वर पुस्तकालयमा तथा वाचनालयमा भदौ ७ र ८ गते २ दिने ‘रामेश्वर कला उत्सव’ गरिएको हो ।
पुस्तकालयले `हामी कलाकार´ समूहसित सहकार्य गर्दै पुस्तकालय परिसरमा विभिन्न कलाकृतिहरू तयार गरेको छ । कवि, कलाकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्य एवम् पुस्तकालय अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, हामी कलाकारका अध्यक्ष भीम शर्मा, पुस्तकालयका सचिव विष्णुप्रसाद वाग्ले, सदस्य मिन्द्राकुमारी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कला उत्सवका कलाकारहरू गोविन्दराज विनोदी, भीम शर्मा, प्रकाश थापा प्रथा, वरुण घिमिरे, सुलभ पौडेल, सुशील गुरुङ, मिलन गुरुङ, सन्तोष श्रेष्ठ, सुभाष सुनार, स्वस्तिका ढकालका कलाकृतिहरूले पुस्तकालयको सौन्दर्य बढेको पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले बताए ।
कलाकारहरूले विभिन्न धार्मिक, सामाजिक, साँस्कृतिक र वातावरण झल्काउने मूर्त, अमूर्त चित्रहरू बनाएका छन् । यस्ताखाले चित्रकलाका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने प्रमुख अतिथि गोविन्दराज बिनोदीले बताए ।






