भरतपुर, १० भदौ ।
छायादेवी चेतनाथ गजल पुरस्कार- २०७७ गजलकार पुष्प अधिकारी अञ्जलिको गजलसंग्रह `हरियो ऐना´ ले पाउने भएको छ ।
पुरस्कारका संयोजक अच्युत घिमिरेले सामाजिक संजालमार्फत
अञ्जलिको `हरियो ऐना´लाई पुरस्कृत गरिएको जानकारी गराएका छन् ।
पुरस्कृत अञ्जलि हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष हुन् । ३ दशक अगाडिदेखि सक्रिय साहित्यिक पत्रकारिता गरेका अञ्जलि नवसर्जक र युवापुस्तालाई साहित्यिक मञ्च प्रदान गराउने अभिभावकका रूपमा परिचित छन् । साहित्यका बिबिध बिधामा कलम चलाइरहेका उनी विशेषगरी गजल लेखनमा सक्रियरुपमा लागेका छन् ।
यसअघि यो पुरस्कार प्रकृति प्रेमीको समीर (२०७६), टक गुरुङको अनाहत (२०७५) तथा आवाज शर्माले सम्पादन गरेको इन्द्रेणी (२०७४)संयुक्त गजलसङ्ग्रहले प्राप्त गरिसकेका छन् ।
पुरस्कार रकम १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र रहेको छ ।
यो पुरस्कार गजलकार जे. सागरले आफ्ना मातापिताको नाममा स्थापना गरेका हुन् ।





