काठमाडौँ, ३० श्रावण ।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका हुन् ।
संविधानको धारा २६९ (४) (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुनुपर्ने व्यवस्था रहेको छ । सोही धारामा विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा नपर्ने समेत व्यवस्था गरिएको छ । संविधानको सोही व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ गतेबाट साढे ५ वर्ष सकिँदैछ ।
कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।
कांग्रेसको १४औं महाधिवेशनको प्रस्तावित कार्यतालिका यस्तो रहेको छ :
- गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
- गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन) (२०७८ असोज ५ गते)
- एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
- प्रदेश अधिवेशन (कार्तिक १०, ११ र १२ गते)
- केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि )
(इकान्तिपुर डट कमको सहयोगमा)





