भरतपुर, ३० श्रावण ।
पछिल्लो २४ घण्टामा चितवनका थप १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११५ जनामा पीसीआर तथा ५० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
कार्यालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ५०५ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा १४० वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब २५.५८ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।
यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल २ हजार ५३१ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेखछ । तीमध्ये १७६ जना अस्पतालको आइशोलेसनमा छन् भने २ हजार ३४९ जना घरमै आइशोलेसनमा रहेका छन् । जिल्लाका ६ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।
थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या २२ हजार ९९७ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १६ हजार ३१४ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म २० हजार १०४ जना संक्रमितलाई निको भइसकेको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको मृत्यु भएको छ । उनीहरू दुवै जना भरतपुरका भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३६२ जनाको ज्यान गएको छ । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २३० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
रत्ननगर नगरपालिकाका ३६ जना संक्रमितको मृत्यु हुँदा खैरहनी र राप्तीका २९–२९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २१, माडी नगरपालिकाका १४ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।





