भरतपुर, ३० साउन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।
नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओलीपक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै उनले ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको आरोप लगाए । नेपाल पक्षका अधिकांश सांसद नयाँ पार्टी गठन गरी सरकारमा जानुपर्ने अडानमा छन् । ओली पक्षले भने नेपाल पक्षका अधिकांश सांसदलाई पार्टीको भन्दा सत्ताको बढी मोह भएको आरोप लगाएको छ ।
ओली पक्षबाट पार्टी कब्जा गरेर मनोमानी रूपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको उनले बताए ।





