भरतपुर, २८ श्रावण ।
कारोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकले बिहीबारदेखि दोस्रो मात्राको खोप लगाउन थालेका छन् । पहिलो मात्राको खोप लगाएको ४ हप्ताभित्र दोस्रो मात्राको खोप लगाउनुपर्ने भनिएको भएपनि खोपको आयातमा समस्या हुँदा ती लक्षित वर्गले ४ महिनापछि बल्ल दोस्रो मात्राको खोप पाएका हुन् ।

फाल्गुन २३ देखि चैत्र ३ गतेको अवधिमा जिल्लाभरका २६ हजारभन्दा बढीले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएका थिए । तीमध्ये अधिकांश ६५ वर्ष नाघेका नागरिक हुन् ।
जिल्लास्थित सबै वडामा रहेका खोप केन्द्रबाट दोस्रो मात्राको खोप दिइनेबारे थाहा पाएका लक्षित वर्गहरू बिहानैदेखि खोप केन्द्रमा आफ्नो पालो कुरेर बसिरहेका थिए । खोप लगाउनुपर्ने समूहको संख्या ठूलो भएकाले कतिपय खोप केन्द्रमा खोप लगाउन पुगेकाको भीड थामिनसक्नु थियो । घरि टाउको दुख्ने गर्मी त घरि साउने झरी समेतको वास्ता नगरी उनीहरू खोपको पर्खाइमा बसेका थिए ।

भरतपुर महानगरपालिका वडा नं १० मा रहेको मातृशिशु क्लिनिक, वडा नं ४ स्थित दुर्गा चोक आधारभूत स्वास्थ्य केन्द्र, वडा नं ७ कार्यालय लगायतका खोप केन्द्रबाट करिब एक हजारभन्दा धेरैले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । दुई दिनको अवधिमै हजारभन्दा बढी लक्षित समूहलाई खोप लगाउनुपर्ने भएकाले खोप केन्द्रमा स्वास्थ्यकर्मी एकछिन पनि नबिसाई काम गरिरहेको देख्न सकिन्थ्यो । भीडभाड भएका ठाउँमा खोप अभियानलाई थप केही दिनका लागि लम्ब्याउन सकिने पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेका फार्मस्युटीकल्सद्वारा निर्मित खोपलाई नै भारतीय कम्पनी सिरम इन्स्टीच्युटले कोभिसिल्डको नाममा उत्पादन गर्दै आएको छ । गत वर्ष माघ महिनामा भारतीय सरकारले नेपाललाई उपहारस्वरूप १० लाख मात्रा कोभिसिल्ड खोप दिएसँगै नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको थियो । तर भारतमा पछि महामारीको दोस्रो लहरले भयावह रूप लिन थालेपछि भारतले सुरुमा आफ्ना नागरिकलाई खोप प्रदान गर्ने भन्दै खोपको निर्यात रोकेको थियो । सोही कारण भारतसँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप अझै प्राप्त हुन सकेको छैन ।
सरकारले खोप खरिद तथा आपूर्ति गर्ने क्रममा सही कूटनीति नजान्दा जोखिम वर्ग भनिएकाहरू नै लामो समयसम्म खोप पाउनबाट वञ्चित भएका हुन् । सरकारलाई हालै जापान र भुटानले एस्ट्राजेनेका खोप सहयोग गरेसँगै पहिलो मात्राको कोभिसिल्ड खोप लगाएका करिब १३ लाख नागरिकले दोस्रो मात्राको खोप लगाउने अवसर पाउन लागेका हुन् ।













तस्बिरहरू : शिव गौतम ।





