भरतपुर, २७ साउन ।
कैलालीको भासु भिरमा जिप खस्दा दुईजनाको मृत्यु भएको छ । धनगढीबाट डोटी जाँदै गरेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जिप कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा जोरायल–१ का जिप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशील साउद छन् । जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।





