उदाहरणीय उद्यमशीलता

देश बनाउने हो भने उद्यमशीलताको विकास पहिलो शर्त हो । देशको जनशक्ति विदेश पलायन हुने अनि खाद्यान्नदेखि लिएर औषधिसम्म आयात गरेर देश बन्न सक्दैन । यो कुरा हरेक नागरिकले मनन् गरेर दलीय घेराभन्दा माथि उठी उद्यमशीलतामा लाग्ने हो भने देश बनाउन कठिन छैन ।

उद्यमशीलताको विकासका लागि वर्तमान अवस्था अनुकूल नहोला । तर इच्छाशक्ति भयो भने कोरोना महामारीको प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्न सकिन्छ । यही अवस्थालाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ६ केशरवागमा सामुहिक कृषि फार्म सुरु गरेका छन् । घना झाडी फाँडेर नयाँ रुप दिएका छन् । हेर्दा सानो देखिए पनि यो उद्यमशीलताको राम्रो नमुना हो ।

पहिल्यै पनि माछापालन गरिएको यो ठाउँ लामो समय प्रयोगमा नआउँदा घना जंगल बनिसकेको थियो । बस्तीको छेउमा वन्यजन्तुको बासस्थान बन्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जमिन भाडामा लिएर सामुहिक कृषि फार्म खोल्ने योजना बन्यो । झाडीले ढाकिएको जमिनलाई फाँडेर कृषि उत्पादनलाई जोड दिन सबै मिलेर श्रमदान गरे । अहिले यो ठाउँ कृषि उत्पादनको केन्द्रको रुपमा विस्तार हुँदै गएको छ ।

जग्गा भाडामा लिएर सामुहिक खेती, माछापालन, कुरिलो, च्याउ र फूलखेती गरिएको छ । पहिले बाघ लुक्ने झाडी भएको ठाउँ एक वर्षमै फेरिनुलाई उपलब्धिमूलक नै मान्नु पर्छ । विभिन्न पेसामा आवद्ध ५२ जनाको ३० लाख लगानीबाट उद्यमशीलताको नमुना अभ्यास भइरहेको छ ।

सामुहिक कृषि फार्ममा माछा, फूलखेती, च्याउखेतीलगायत फरकफरक समूह बनाएर काम गरिएको छ । विभिन्न पेशा र विचार भएका व्यक्ति जोडिएको थलो फार्म हाउस भएपनि यसलाई विचार अभ्यासको थलो नभएर श्रम अभ्यासको थलो बनाउने उद्देश्य प्रशंसनीय छ । आज देश लथालिङ्ग हुनुमा हरेक क्षेत्रमा हाबी भएको अति राजनीतिकरण प्रमुख कारण हो । पार्टीमा विभक्त नभएका नागरिक भेट्टाउनै मुश्किल पर्ने अवस्था छ ।

बहुदलीय व्यवस्थामा आफूलाई मन परेको पार्टीमा लाग्नु नराम्रो होइन । तर विद्यालय व्यवस्थापन समितिदेखि लिएर संसदीय समितिसम्म राजनीतिक भागबण्डामा हुनु गलत अभ्यास हो । अझ पार्टीको वकालत गर्दै हुने चियागफले त उद्यमशीलता मार्ने काम गरेको छ । कुराभन्दा काम ठूलो हो भन्ने सोचेर विशेषतः युवा वर्गलाई उद्यमशीलतामा जोड्न सकियो भने देशको मुहार फेरिन समय लाग्ने छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट