काठमाडौँ, २७ साउन ।
हरिसिद्धि ललितपुर निवासी डा. सरिता श्रेष्ठ तथा इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रलाई गाडी सहयोग गरेका छन् ।
श्रेष्ठ दम्पतिले महावीर पुनलाई आफ्नै निवासमा बोलाएर बा ६ च ७५६८ नम्बरको ७५ हजार किलोमिटर चलेको टाटा टी एल क्रिउ क्याब गाडी प्रदान गरेका हुन् ।
गाडीको ब्लु बुक, नवीकरण र इन्स्युरेन्स गरेको कागजपत्र पनि श्रेष्ठ दम्पतीले पुनलाई दिइसकेका छन् ।
पुनले भने, ‘उहाँहरुले त्यो गाडी पहिले विभिन्न काममा प्रयोग गर्नु भएको रहेछ । खासगरी अस्पतालहरुमा, हेल्थ क्याम्पहरु गर्दा प्रयोग भएको रहेछ । अहिले उहाँहरुले त्यो काम गर्न छोड्नु भएछ । त्यो गाडी यत्तिकै बसिरहेको रहेछ । अनि उहाँहरुले सहयोग गर्नु भएको हो ।’
उक्त गाडीलाई राष्ट्रिय आविष्कार केन्द्रले सामानहरु ओसार्ने काममा र काम बिशेषले बाहिरी जिल्लाहरुमा जानु पर्दा सवारी साधनको रुपमा पनि प्रयोग गर्ने उनले बताए । उक्त गाडीले राष्ट्रिय आविष्कार केन्द्रको हाल भइरहेको ढुवानी खर्चको धेरै पैसा बचाउन मदत पनि गर्ने उनको भनाइ छ ।





