काठमाडौँ २६ साउन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् ।
‘मेरै पार्टीका केही मानिसहरू पाउँला र खाउँला भनेर यहाँ (देउवा) का पछाडि कुदेका छन्। तिनीहरूलाई मन्त्री बनाइदिनुस् न प्लिज,’ ओलीले भने, ‘किन बिलम्ब गर्नुभएको?’
उनले मन्त्री खान स्वाँस्वाँ र फ्याँफ्याँ गरिरहेको भन्दै सांसदहरूप्रति कटाक्ष पनि गरेका छन्। साउन ३ मा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए।
‘पछिपछि हिँडेका छन् पिलिज तिनीहरूलाई मन्त्री बनाइदिनु न,’ ओलीले भनेका छन्, ‘बिहान बेलुकी चाकरीमा हाजिर भएका छन्। मेरो दलमा घाटा भए सहुँला बुझुँला, मन्त्री बनाइदिनुस्।’





