भरतपुर, २६ साउन ।
चितवन प्रशासनले काेराेना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञालाई बिस्तारै कडा बनाउँदै लैजाने बताएकाे छ । समुदायमा संक्रमणकाे दर बढेपछि निषेधाज्ञा बिस्तारै बढाउन थालिएकाे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
“संक्रमण बढेर गएपछि चेन ब्रेक गर्नुपर्छ”, आज बिहान चितवनका पत्रकारहरूसँगकाे भर्चुअल अन्तरक्रियामा उनले भने, “त्यसका लागि मान्छेकाे आवातजावत राेक्ने अस्त्र निषेधाज्ञामा कडाइ नै हाे ।”
अहिले बजारमा भीड नियन्त्रणका लागि पसल खाेल्ने समय साताकाे ३ दिनमा सीमित गरिएकाे छ । त्यस्तै सरकारी कार्यालयमा आलाेपालाे गरिएकाे छ भने सार्वजनिक र निजी सवारीसाधनमा जाेरबिजाेर लगाइएकाे छ ।
पसल बन्द गराउने तर सार्वजनिक यातायात खाेल्ने निर्णयकाे आलाेचना भइरहेकाे बेला उनले बिस्तारै त्यसमा पनि पुनर्विचार गर्ने बताए । “सार्वजनिक यातायात बन्द गरिहाल्दा झनै तल्लाे तहका विपन्न नागरिकलाई तुरुन्तै असर परिहाल्ने भयाे”, उनले भने, “सातादिन हेरेर यसमा पनि पुनर्विचार गरिनेछ ।”
प्रमुख जिल्ला अधिकारी लामिछानेले संवेदनशील अवस्था आएकाे भन्दै प्रशासन र स्वास्थ्य कार्यालयबाट जारी स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सबैलाई अनुराेध गरेका छन् ।
स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले निषेधाज्ञासँगै परीक्षण बढाइएकाे बताए । “काठमाडौं बाहिर बढी परीक्षण गराउने जिल्लामा चितवन पर्छ”, उनले भने, “यसलाई अझै बढाइनेछ ।”





