भरतपुर, २४ साउन ।
जापानबाट आज आइतबार करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्ने भएको छ । जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप हिजो शनिबार काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताए ।
आज थप दुई लाख ८७ हजार डाेज खोप आउने उनले जानकारी दिए । शनिबार र आइतबार गरी आठ लाख खोप आइपुग्ने बताउँदै उनले बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने बताए ।
अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए ।
खोप अभियान भोलि साउन २५ गतेबाट सञ्चालन हुँदैछ । प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मा भोलि सुुरु हुने उनले बताए ।





