रसुवा, २४ साउन ।
नेपाल पुस्तक तथा स्टेसनरी महासंघ बागमती प्रदेश समितिको तर्फबाट जिल्लाको जिवजिवेस्थित सरस्वती पुस्तक पसललाई राहत सामग्री उपलब्ध गराइएको छ ।
गत वर्ष २०७६ चैतमा उक्त पसलमा आगलागी भएर करिव १५ लाख रुपैयाँ बराबरको क्षति भएकाे थियो । आपतको अवस्थामा राहत दिई उक्त व्यवसायलाई निरन्तरता गराउन सहयोग पुगोस् भन्दै सहयोग गरिएको महासंघका बागमती प्रदेश अध्यक्ष नारायणकुमार श्रेष्ठले बताए । `बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका व्यवसायी, केहि प्रकाशन गृह र महासंघ बागमती प्रदेशका तर्फबाट संकलन गरिएको करिब तीन लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका हौँ´- श्रेष्ठले भने ।
महासंघको टोली शनिबार रसुवा पुगेर सरस्वती पुस्तक पसलका प्राेपाईटर अर्जुन पाैडेललाई उक्त सामग्री उपलब्ध गराएको हो । महासंघको यो सहयोगले आफूलाई ठूलो राहत मिलेकोले व्यवसायलाई निरन्तरता दिनका लागि सहज भएको भन्दै संचालक पौडेलले महासंघ समितिलाई धन्यवाद दिए ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रम सकिए लगत्तै महासंघ बागमती प्रदेशको सचिवालय बैठक नुवाकोटको बट्टारमा सम्पन्न भयो । बैठकमा व्यावसायिक हकहितका सन्दर्भमा छलफल गरिएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा महासंघ बागमती प्रदेशका सल्लाहकार संयोजक कृष्णचन्द्र पौडेल, निवर्तमान अध्यक्ष किरणकुमार खनाल, सल्लाहकारहरू तुलसीप्रसाद अधिकारी, किरणबाबु न्यौपाने, विजय महर्जन, रामचन्द्र न्यौपानेसहित बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका पुस्तक व्यवसायीहरूको सहभागिता थियो ।





