काठमाडौँ, २३ श्रावण ।
जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको अक्फोर्ड एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।
एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । शनिबार करिब ५ लाख डोज खोप आएको छ । बाँकी करिब ३ लाख डोज भोलि आइपुग्ने बताइएको छ ।
जापानी राजदूत किकुता युताकाले विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए ।
जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब ८ लाख डोज शनिबार र आइतबार आइपुग्ने भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन ।
सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरिसकेको छ । गत फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापान तथा भुटानले उपलब्ध गराएको खोप दिन लागिएको हो ।





