भरतपुर, २२ साउन ।
चितवनमा आगामी साउन २४ गतेदेखि (आइतबार) मात्रै कोरोना भाइरस विरुद्धको भेरो सेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई साउन २२ गतेदेखि नै ५५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्रा लगाउन भनेको थियो ।
चितवनमा ५५ वर्षमाथिका नागरिकले साउन १ देखि ४ गतेसम्म पहिलो मात्राको खोप लगाएकाले २२ गते नै खोप लगाएको २१ दिन नपुग्ने भन्दै स्वास्थ्य कार्यालय चितवनले आइतबारदेखि दोस्रो मात्राको वितरण गर्ने निर्णय गरेको हो । कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार जिल्लाका सातै स्थानीय तहमा खोप अभियान २६ गतेसम्म चल्नेछ । करिब ७० हजार जनालाई दोस्रो मात्राको खोप लगाउनुपर्ने भएकाले लक्षित समूहको चापका आधारमा खोप अभियानको समय थपघट गर्न सकिने पनि कार्यालयले जनाएको छ ।
यस्तै, साउन ११ देखि १४ गतेसम्म भेरो सेल खोपको पहिलो मात्रा लगाएकालाई खोप लगाएको समयले २१ दिन पुगेपछि मात्रै दोस्रो मात्राको खोप दिइने कार्यालयले भनेको छ । उनीहरूका लागि भदौ १ देखि ३ गतेसम्म भेरो सेल खोपको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरिनेछ । खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जानुपर्ने कार्यालयले जनाएको छ । पूर्ण मात्राको खोप लगाइसकेपछि पनि संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड भने पालना गर्न छाड्न नहुने कार्यालयले बताएको छ ।
यसअघिका सञ्चालन गरिनएका दोस्रो मात्राको खोप अभियानमा मानिसहरू पहिलो मात्राको खोप लगाउन पुगेको थाहा हुन आएको बताउँदै स्वास्थ्य कार्यालयले आफ्नो पालोअनुसार मात्रै खोप लगाउन सबैलाई आग्रह गरेको छ ।
भुटान तथा जापानले सहयोगका रूपमा अक्सफोर्ड-एस्ट्राजेनेका खोप उपलब्ध गराएसँगै पहिलो मात्राको कोभिसिल्ड लगाएकालाई दोस्रो मात्राको खोपका रूपमा एस्ट्राजेनेका खोप दिइने उनले सुनाए । खोप काठमाडौँ आइपुगेको केही दिनभित्रै जिल्लामा पनि सो खोप लगाउन थालिने उनले बताए । कार्यालयका अनुसार जिल्लामा करिब २७ हजार जनाले कोभिसिल्ड खोपको दोस्रो मात्रा पाउन बाँकी छ । तीमध्ये अधिकांश ज्येष्ठ नागरिक हुन् ।
आगामी दिनमा खोप प्राप्त गर्न सबैले अनिवार्य रूपमा नाम दर्ता गराएको हुनुपर्ने पनि स्वास्थ्य कार्यालयले जनाएको छ । “माथिल्लो उमेर समूहका नागरिक प्रविधिसँग अभ्यस्त नहोलान् भनेर खोप दर्ता अनिवार्य गर्न सकिएन । तल्लो उमेरका धेरैजसो मानिस इन्टरनेटको पहुँचमा भएकाले लक्षित वर्ग सबैले अनलाइनमार्फत नाम दर्ता गराएको सुनिश्चि गरेर मात्रै खोप दिने तयारी गरेका छौं”, स्वास्थ्य कार्यालयका प्रमुख दीपक प्रसाद तिवारीले बताए ।
अनलाइन नाम दर्ता गराएर खोप लगाउन जाँदा भीड व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो । इन्टरनेटको पहुँच नभएका वर्गलाई पनि सहज रूपमा खोप प्रदान गर्न छलफल गरिरहेको उनले जानकारी दिए । खोप प्राप्त गर्नका लागि व्यक्तिले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर नाम दर्ता गराउन सक्ने तिवारीले बताए ।




