एमाले नेता नेपाल : ‘राजतन्त्र फर्किँदैन, फेरि प्रधानमन्त्री बन्न कसैले जालझेल नगरोस्’

काठमाडौँ, १६ श्रावण ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्केर नआउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिएका हुन् ।

राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने पनि नेपालको भनाइ थियो ।

“जनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् । राजतन्त्र फर्केर आउने छैन । फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् । देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन”, नेपालले भने ।

यस्तै नेता नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन् । नेपालले भने, “फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस् । जे गर्नुछ पारदर्शी रूपमा गरोस् ।”

ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको पनि नेपालको भनाइ थियो । उनले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताए । अहिलेको सरकारले जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव उनले दिए ।

आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए । “तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं”, उनले भने, “हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।”

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताए । “म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो”, उनले भने ।

नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहीन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको पनि बताए । गलत कुराका विरुद्ध सतिशालझैशं उभिने आँट गर्न नेता नेपालले अखिलका नेताहरूलाई सुझाव पनि दिएका थिए ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट