भरतपुर, १६ श्रावण ।
कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवन जिल्लामा साउन १४ र १५ गते ३१ हजार ६०६ जनाले जेनसेन खोप लगाएका छन् । जोन्सन एण्ड जोन्सन नामक अमेरिकी कम्पनीद्वारा निर्मित उक्त खोप एक मात्रा मात्रै लगाए पुग्ने खोप हो ।
सोसँगै जिल्लमा थप ३१ हजार ६०६ जनाले पूरा मात्राको खोप लगाएका छन् । जिल्लामा यसअघि २३ हजार ९३८ जनाले कोभिसिल्ड र भेरो सेल खोपको दुवै मात्रा पाइसकेका छन् । तीन वटै खोपको पूर्ण मात्रा लगाएको संख्या करिब ५४ हजार पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । उसका अनुसार जिल्लामा हालसम्म करिब १ लाख बढीले भेरो सेल र कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । तीमध्ये करिब २६ हजार नागरिक कोभिसिल्ड खोपको दोस्रो मात्राको प्रतीक्षामा रहेका छन् ।
जिल्लामा साउन १४ र १५ गते खोप लगाउन छुटेकालाई १६ गते पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । १६ गतेको तथ्यांक भने स्वास्थ्य कार्यालयले उपलब्ध गराइसकेको छैन ।
साउन १५ गतेसम्ममा जिल्लामा सबैभन्दा धेरै भरतपुरका १७ हजार ७१० जनाले जेन्सेन खोप लगाएका छन् । यस्तै, खैरहनी नगरपालिकाका ४ हजार १५२, माडी नगरपालिकाका १ हजार ४९५ र रत्ननगर नगरपालिकाका ३ हजार ४७५ जनाले जेन्सेन खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा राप्ती न.पा.का २ हजार २३३, कालिका न.पा.का २ हजार १३४ र इच्छाकामना गाउँपालिकाका ४०७ जनाले जेन्सेन खोपको पूर्ण मात्रा पाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।




