चितवनमा एकै दिन १४३ जना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

भरतपुर, १६ श्रावण ।

पछिल्लो २४ घण्टामा चितवनका थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२३ जनामा पीसीआर तथा २० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ६३४ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा ६९ वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब २०.२५ प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।

यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल २ हजार २३६ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये १२२ जना अस्पतालको आइशोलेसनमा छन् भने २ हजार १०६ जना घरमै आइशोलेसनमा रहेका छन् । जिल्लाका ८ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या २० हजार ४६० पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १४ हजार ६०० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १७ हजार ८९४ जना संक्रमितलाई निको भइसकेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये दुई जना भरतपुर म.न.पा.का हुने भने अन्य दुई खैरहनी न.पा.का भएको कार्यालयले जनाएको छ । सोसँगै जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३३२ जनाको ज्यान गएको छ । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

रत्ननगर नगरपालिकाका ३२ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २४ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २१, माडी नगरपालिकाका १३ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट