कोरोनाको तेस्रो लहरको तयारी, देशभर १८० भेन्टिलेटर र १४०० एचडीयु बेड थपिँदै

भरतपुर, १६ साउन ।
कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूका लागि १८० भेन्टिलेटर सहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको हो ।

केही दिन अगाडि नै असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा देशभर थप १ हजार ४०० एचडीयु बेडहरु विस्तार गर्न लागिएको जनाइएको छ । हाल देशभरका सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजी अस्पतालमा ७७८ एचडीयु बेड सञ्चालनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले भेन्टिलेटरहरुको संख्या ९०४ पुर्‍याइएको र १८० थप गर्ने प्रक्रियामा रहेको छ पनि जानकारी दिएको छ ।

कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपुर्ति सुदृढ गर्नका लागि सरकारले सघन कार्यहरूमार्फत ५ हजार ५०० अक्सिजन कन्सट्रेटर ल्याइसकेको मन्त्रालयले जानकारी दिएको छ । थप ३ हजार ५०० अक्सिजन कन्सट्रेटर आउने क्रममा रहेको मन्त्रालयको दाबी छ ।

यस्तै, ६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको छ तथा १९ वटा अक्सिजन प्लाण्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको कार्य सम्पन्न भइसकेको प्रवक्ता डा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्भावित तेश्रो लहर रोक्न र त्यसबाट हुन सक्ने क्षति कम गर्न हामी सबैको सामूहिक प्रयास र हाम्रा गतिविधिहरुमा जनस्वास्थ्यको मापदण्डको पालनाको महत्वपुर्ण भूमिका हुने पनि पुनः स्मरण गराउन चाहन्छौ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

सरकारले यसअघि नै चैतसम्म उमेरअनुसार खोप लगाउन मिल्ने सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने घोषणा गरेको थियो । हालसम्म भारत, चीन तथा अमेरिकाबाट खरिद र अनुदानबाट गरी ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको र खोप अभियान जारी रहेको मन्त्रालयको विज्ञप्तीमा जनाइएको छ ।

यस्तै, चीनको सिनोफार्मा कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको मन्त्रालयले जानकारी दिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाकि १० लाख डोज प्राप्त हुँदा असोज मसान्त भित्र कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आकलन गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरि १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रुपमा कार्य अगाडि बढिरहेको मन्त्रालयले जानकारी दिएको छ । गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जादा चैत्र मसान्तसम्म सम्पूर्ण नेपालीहरुको पहुचमा खोप पुग्ने मन्त्रालयको दाबी छ ।

मन्त्रालयले खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाइ विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरु उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समुहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट