बिहीबार देशभर ३३६५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु पुष्टि

भरतपुर, १४ श्रावण ।

नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका ९ हजार ५५५ परीक्षणमा २ हजार ३३५ तथा एन्टिजेन विधिबाट गरिएका ४ हजार ६८७ परीक्षणमा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म संक्रमणबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । यो संख्या कूल संक्रमितको करिब ९४ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मको उमेर समूहका ५७८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म गरिएका पीसीआर परीक्षणको संख्या ३५ लाख ८४ हजार ४१९ पुगेको छ । एन्टिजन विधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या भने ३ लाख ९ हजार २३३ रहेको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएका परीक्षणमा ६ लाख ९० हजार ६४२ तथा एन्टिजेन विधिबाट गरिएका परीक्षणमा ५९ हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ९ हजार ८०७ पुगेको छ ।

देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने ३० हजार ३९० रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा छन् भने बाँकी ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ३७९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या ६३६ रहेकोे छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ८६ जनाको भेन्टिलेटरमा तथा ३८१ जनाको आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार हालसम्म ३६ लाख ५० हजार ७३३ जनाले कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएका छन् । पूर्ण मात्राको खोप लगाउनेको संख्या भने १५ लाख ४८ हजार ८०३ रहेको छ । तीमध्ये ३ लाख ७६ हजार ६० जनाले जेन्सेन खोपको एक मात्र मात्रा लगाएका हुन् भने अन्यले कोभिसिल्ड र भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चितवनका ९६, काठमाडौंका ५९७, ललितपुरका १५५ र भक्तपुरका १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा १०, नुवाकोटमा ४५ र सिन्धुपाल्चोकमा १२ जना संक्रमित थपिएका छन् ।

सोही अवधिमा चितवनका छिमेकी जिल्लाहरू पर्सामा ६, मकवानपुरमा ६६, धादिङमा ८, नवलपुरमा ५६, नवलपरासीमा ३, तनहुँमा ४५ र गोरखामा ३१ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश नं १ को झापामा २७२, मोरङमा ७२ र सुनसरीमा १७० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं २ भरि ४१ जना संक्रमित थपिएका छन् ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा २४८ जना नयाँ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशभर ४१ तथा सुदूरपश्चिम प्रदेशभर पनि ४१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, नवलपुर र रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट