चितवनका अस्पताल तथा आइसोलेसनमा २१३ जना संक्रमितको उपचार हुँदै

भरतपुर, १४ साउन ।

स्वास्थ्य कार्यालय चितवनले बिहीबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २१३ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ७५ जना, एचडीयू कक्षमा ५० जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८८ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये १२ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ९९, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ५७, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा २२ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि १२ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा ७ जना, कालिका नगरपालिका केन्द्रमा ६ जना तथा इच्छाकामना गाउँपालिका केन्द्रमा २ जना संक्रमित राखिएका छन् । अन्य स्थानीय तहका आइशोलेसन भने खालि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ४ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार चारै जना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकामध्ये २ जना चितवनका हुन् भने अन्य दुई नवलपरासी र तनहुँका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट १९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट