चितवनमा लगाइँदै जेन्सेन खोप

भरतपुर, १४ साउन ।

कोरोना भाइरस विरुद्ध एक मात्रा मात्रै लगाए हुने जेन्सेन खोप चितवनमा बिहीबारदेखि प्रदान गर्न थालिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १४ र १५ गते जिल्लाभरका वडामा रहेका स्वास्थ्य केन्द्रबाट खोप दिइने कार्यतालिका बनाइएको छ ।

जेन्सेन खोप लगाउने पहिलो दिन बिहीबार खोप केन्द्रमा लक्षित समूहको उल्लेख्य उपस्थिति रहेको थियो । खोपका बारेमा विभिन्न खालका भ्रम फैलिएको भएपनि खोप लगाउने मामलामा भने स्थानीय उत्साहजनक देखिएका थिए । खोप लगाउने क्रममा केही दुखाइ भएको खोप लगाएकाहरूले बताए ।

जेन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका तथा ‘क’ र ‘ख’ वर्गको अपांगता भएका नागरिकहरूलाई लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै यसअघिका खोप अभियानमा छुटेर हालसम्म कुनै पनि खोप लगाउन नपाएका स्वास्थ्यकर्मीसँगै खोप अनिवार्य गरिएका मुलुकमा जान लागेका नागरिकलाई पनि खोप प्रदान गरिनेछ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित सो खोपको ३६ हजार ५०० डोज प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन १५ गतेको अन्त्यसम्म लगभग त्यति नै संख्याका नागरिकले जेन्सेन खोपको पूर्ण मात्रा पाइसकेका हुनेछन् ।

हालसम्म चितवनमा कोभिसिल्ड, भेरो सेल र जेन्सेन गरी तीन प्रकारका कोरोना भाइरस विरुद्धका खोप प्रयोगमा ल्याइएका छन् । कोभिसिल्ड खोप अक्सफोर्ड एस्ट्राजेनेका फर्मुलामा आधारित हो भने भारतीय कम्पनी सिरम इन्ष्टीच्युटले उत्पादन गरेको हो । यस्तै भेरो सेल खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो ।

स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म जिल्लाका करिब एक लाख जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा पाइसकेका छन् । दुवै खोपको दोस्रो मात्रा पाइसकेकाको संख्या भने करिब २४ हजार रहेको छ । भारतले हाललाई खोपको निर्यात रोकेका कारण चितवनभर पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका करिब २६ हजार जना खोपको दोस्रो मात्रा पाउनबाट वञ्चित भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट