`दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।’
स्वर्गीय नाटककार बालकृष्ण समको यो उक्ति बेलाबेलामा चरितार्थ हुने गर्छ नेपाली समाजमा । पछिल्लो समय एउटा मजदुर परिवार यस्तै दुःखमा परेको छ । मकवानपुरको कैलाश गाउँपालिका ७ कोथलीटारका २५ वर्षीय कृष्ण चेपाङ घरबाट गत असार २३ गते साँझ तरकारी किन्न बजारतिर निस्के । श्रीमती रस्मिता चेपाङलाई ‘छिट्टै तरकारी लिएर आउँछु’ भनेर बसामाडी निस्केका उनी घर फर्कन पाएनन् । तरकारी किन्न गएका उनलाई बाटोमै मोटरसाइकलले ठक्कर दियो । अहिले उनी भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) मा उपचाररत छन् । पैसाको अभावमा उनको उपचार गर्न परिवारलाई सकस परेको छ ।
सडक छेउबाट बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएपछि रगताम्मे अवस्थामा पुगेका कृष्णको टाउकाको अप्रेसन भयो तर उनको होस आएन । आइसियुमा राख्नुपर्ने भयो । ८ दिनपछि बल्ल कृष्णको होस आयो । अहिले पनि कृष्णले राम्रोसँग आफन्त चिन्दैनन् । बोल्छन् मात्रै । उनको थप उपचार बाँकी नै छ । तर विपन्न परिवारका उनीहरु अहिले आर्थिक अभावले औषधी समेत किन्न नसक्ने अवस्थामा पुगेका छन् । कृष्णलाई ठक्कर दिएपछि फरार बनेका मोटरसाइकल चालक हेटौँडाका सञ्जय लामालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । तर पक्राउ परेका सञ्जयले प्रहरीलाई गरिबीको कारण आफू पैसा तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । २० दिनभन्दा बढीको अस्पातल बसाइँमा कृष्णको उपचार खर्च झण्डै ६ लाख पुगिसकेको छ । तर चेपाङ परिवारसँग अस्पतालको बिल तिर्ने सामथ्र्य छैन । बिल तिर्न नसकेपछि अस्पतालले औषधी रोकेको छ ।
कृष्णकी श्रीमती रस्मिता २० दिनदेखि श्रीमानलाई स्याहारसुसार गरेर अस्पतालमा बसिरहेकी छिन् । उनलाई थाहा छैन कहिलेसम्म अस्पातलमा पैसा अभावले छट्पटिदै बस्नुपर्ने हो ? श्रीमान् पूर्णरुपमा निको नभएसम्म कसरी उपचार गर्ने हो ? दुई छोराछोरीलाई कसरी हुर्काउने हो ? यो दुःखी परिवारमा दुःखको वर्षा कहिले रोकिने हो ? यो चेपाङ परिवारमाथिको कहरले राज्यको स्वास्थ्य नीतिलाई पनि प्रश्न गरिरहेको छ । के गरीबले पैसाको अभावमा उपचार नपाएरै दुःख सहनु पर्ने हो ? अकालमै मर्नु पर्ने हो ?
दुर्घटना बाजा बजाएर आउँदैन । तर दुर्घटनामा परेकाहरुको उपचार सहज भएन भने मृत्युले गिज्याउन थाल्छ । राज्यले गरीबको उपचारको दायित्व लिनु पर्दैन ? मेडिकल कलेज संचालन गर्नेहरुले गरीबका लागि छुट्याएको उपचार सेवा कृष्ण चेपाङहरुले नपाउने हो भने कसले पाउने ? कि कागजमा मात्रै हो विपन्न उपचारको विषय ? कृष्णले उपचार अभावमा मर्नु नपरोस् भन्नेमा सरोकारवाला सबैको ध्यान समयमै पुगोस् ।





