भरतपुर, १२ साउन ।
नेपाली पौडी खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाहले टोकियो ओलम्पिक २०२० को पुरुष १०० मिटर फ्रिस्टाइलतर्फ राष्ट्रिय कीर्तिमान तोडेका छन् । शाहले मंगलबार उक्त स्पर्धा पूरा गर्न ५३.४१ सेकेन्ड लिएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।
ओलम्पिक छात्रवृत्तिमा तयारी गर्दै जापानको यात्रा गरेका १८ वर्षीय एलेक्सले टोकियो अक्वटिक्स सेन्टरमा कीर्तिमान सुधार गरेपछि भने, “पहिलोपल्ट ओलम्पिकमा खेल्दा नै आफ्नै कीर्तिमान सुधार गर्न पाउँदा हर्षित छु । राम्रो समय निकालेँ । पछि अझै राम्रो गर्न चाहन्छु ।”
हिट्स १ मा पहिलो हुने क्रममा शाहले सुरुको ५० मिटर २५.८१ सेकेन्डमै पार गरेका थिए । उनले दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औँ फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा बनाएको ५६.२८ सेकेन्डको कीर्तिमानलाई यो ओलम्पिकमा सुधार गरेका हुन् ।
हिट्स १ मा उनीसँगै भुटान, माल्दिभ्स, कोसोभो, गुयना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका गरी सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा सहभागी ७१ खेलाडीमध्ये उनी ५९औँ स्थानमा रहे ।
टोकियो ओलम्पिकमा यसअघि नेपालको तर्फबाट जुडोकी सानिया भट्ट (महिला ४८ केजीमुनि) र सुटिङकी कल्पना परियार (महिला १० मिटर एयर राइफल)ले प्रतिस्पर्धा गरेका थिए । कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि यी दुवै खेलाडीको चुनौती पहिलो चरणमै समाप्त भयो ।
३२औँ गृष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी चार खेलमा सहभागी छन् । पौडीकै गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा बुधबार र एथलेटिक्सकी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।






