भरतपुर, १२ श्रावण ।
पछिल्लो २४ घण्टामा चितवनका थप १९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५८ जनामा पीसीआर तथा ३७ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
कार्यालयले मंगलबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि १ हजार ३४ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सोही अवधिमा ८० वटा एन्टिजेन परिीक्षण भएका थिए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा करिब १७.५० प्रतिशत नमूनामा कोरोना पोजिटिभ पाइएको हो ।
यस्तै, चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल १ हजार ९५६ रहेको कार्यालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये ११० जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ८३८ जना घरमै आइशोलेसनमा रहेका छन् । ८ जना संक्रमित भने स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।
थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १९ हजार ७२४ पुगेको छ । जिल्लाभित्र हालसम्म भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १४ हजार ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म १७ हजार ४४७ जना संक्रमितलाई निको भइसकेको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका कुनै पनि संक्रमितको मृत्यु भएको छैन । जिल्लाभित्र हालसम्म संक्रमणका कारण ३२१ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २०४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
रत्ननगर नगरपालिकाका ३२ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका २२ तथा राप्तीका २९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका २०, माडी नगरपालिकाका ११ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।





