पैसाको अभावले उपचारमा सकस

भरतपुर, १२ साउन ।
मकवानपुरको कैलाश गाउँपालिका- ७ कोथलीटारका २५ वर्षीय कृष्ण चेपाङ घरबाट गत असार २३ गते साँझ तरकारी किन्न बजारतिर निस्के । श्रीमती रस्मिता चेपाङलाई ‘छिट्टै तरकारी लिएर आउँछु’ भनेर बसामाढी निस्केका उनी घर फर्कन पाएनन् । तरकारी किन्न गएका उनलाई बाटोमै मोटरसाइकलले ठक्कर दियो । अहिले उनी भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) मा उपचाररत छन् । पैसाको अभावमा उनको उपचार प्रभावित बनेको छ ।

दिनभरिको ज्यालामजदुरी काम सकेर साँझमा परिवारसँगै बसेर खाना खाने कृष्ण त्यस दिन सडक छेउबाट बाटो काट्ने क्रममा दुर्घटनामा परे । मोटरसाइकलले ठक्कर दिएपछि रगताम्मे अवस्थामा पुगेका कृष्णलाई उपचारको लागि हेटौँडाकै चुरे हिल अस्पतालमा लगियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई अस्पातलले तुरुन्तै पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गर्‍यो । रातको १२ बजे भरतपुर ल्याइयो । उनको टाउकाको अपरेसन तुरुन्तै गर्नुपर्ने भयो । टाउकाको उपचारको लागि २ लाख लाग्ने डाक्टरले बताएपछि श्रीमती रस्मिता आत्तिइन् । उनले श्रीमानको ज्यान जोगाउन ‘पैसा जसरी पनि जुटाउँछु’ भन्दै डाक्टरलाई अप्रेसनको लागि याचना गरिन् । अप्रेसन भयो तर कृष्णको होस आएन । आइसियुमा राख्नुपर्ने भयो ।

आइसियुको लागि दिनको १० हजार लाग्ने डाक्टरले बताएको रस्मिता सुनाउँछिन् । आइसियुमा राखेको ८ दिनपछि बल्ल कृष्णको होस आयो । अहिले पनि कृष्णले राम्रोसँग आफन्त चिन्दैनन् । घरिघरि मात्रै बोल्छन् । उनको थप उपचार बाँकी नै छ । तर विपन्न परिवारका उनीहरु अहिले आर्थिक अभावले औषधी समेत किन्न नसक्ने अवस्थामा पुगेका छन् । यति हुँदासम्म कृष्णलाई ठक्कर दिने मोटरसाइकलका चालक अस्पतालमा देखा परेनन् । न त ती चालकले उपचार खर्च ब्यहोर्ने स्थिति बन्यो ।

साउनको ६ गते बिहान डाक्टरले माग गरेको औषधी लिन अस्पतालको फार्मेसीमा पुगेकी रस्मितालाई फार्मेसीले जवाफ दियो, ‘तपाईको बिरामीको चार लाख रुपियाँभन्दा बढी तिर्नुपर्ने भइसकेको छ, आजबाट औषधी रोक्नु भनेर निर्देशन आएको छ ।’ त्यसयता उनले श्रीमानको लागि आवश्यक औषधी समेत किन्न सकेकी छैनन् ।
२० दिनभन्दा बढीको अस्पातल बसाइँमा कृष्णको उपचार खर्च झण्डै ६ लाख पुगिसकेको छ । तर चेपाङ परिवारसँग अस्पतालको बिल तिर्ने सामर्थ्य छैन । अस्पतालले जनरल बेडमा सार्न भनेको एकहप्ता भएपनि उनीहरुले बिल तिर्न नसक्दा सार्न नसकेको रस्मिताले अँध्यारो अनुहार लगाउँदै सुनाइन् ।

‘अस्पतालमा तिर्न ६ लाख पुगिसक्यो । आधा पैसा तिरेर जनरल बेडमा सार्नु भनेको छ’ उनले भनिन्, ‘एकहप्ता भइसक्यो औषधी पनि किन्न सकेको छैन । यति धेरै पैसा मैले कहाँबाट ल्याउनु ? न जग्गाजमिन छ, न हामीलाई कसैले ऋण दिन्छ ।’

गाउँपालिकाका अध्यक्ष लगायतलाई पटकपटक फोन गरेपनि सान्त्वना मात्रै मिलेको उनी बताउँछिन् । रस्मिता २० दिनदेखि श्रीमानलाई स्याहारसुसार गरेर अस्पतालमा बसिरहेकी छिन् । उनलाई थाहा छैन कहिलेसम्म अस्पातलमा पैसा अभावले छट्पटिँदै बस्नुपर्ने हो । श्रीमान् पूर्णरुपमा निको नभएसम्म कसरी उपचार गर्ने ? दुई छोराछोरीलाई कसरी हुर्काउने ? भन्ने चिन्ताले रस्मितालाई गाँजेको छ ।

कृष्णलाई ठक्कर दिएपछि फरार बनेका मोटरसाइकल चालक हेटौँडाका सञ्जय लामालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । तर पक्राउ परेका सञ्जयले प्रहरीलाई गरिबीको कारण आफू पैसा तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट