लुम्बिनी प्रदेशसभा सदस्य मगर हराएको भन्दै उजुरी दर्ता

बुटवल, ११ साउन ।

लुम्बिनीकी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर हराएको भन्दै उजुरी दर्ता भएको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षकी नेत्री उनी बेपत्ता रहेको भन्दै पार्टीले आइतबार इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको हो ।

पाल्पाकी ढेंगा समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य चुनिएकी हुन् । सत्तारूढ एमालेले आफ्नो पक्षमा बहुमत पुर्‍याउन मगरलाई कब्जामा लिएको हुन सक्ने जसपाले जनाएको छ ।

जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर सम्पर्कमा नरहेकाले खोजबिनका लागि प्रहरीमा निवेदन दिएको बताए । “उहाँ हिजो दिउँसोदेखि सम्पर्कबाहिर हुनुहुन्छ । हामीले पनि खोजबिन गरिरहेका छौं । प्रहरीलाई पनि निवेदन दिएका छौं”, उनले भने ।

जसपा लुम्बिनीको संसदीय दलका नेता सहसराम यादवले पार्टीको कामले पटकपटक फोन गर्दा समेत आइतबार बिहान ११ बजेपछि मगर र उनको परिवार सम्पर्कमा नआएको बताए । असार ३१ गते सांसद मगरले एमाले नेताहरूले आफूलाई ‘कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस्’ भनेर अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा बताएकाले उनी सम्पर्कविहीन हुनु रहस्यमय भएको नेता यादवको भनाइ छ ।

लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी सांसद ‘बेपत्ता’ भएपछि राजनीतिले पुनः चर्चा पाएको छ । लुम्बिनीमा जनता समाजवादी पार्टीबाट ६ प्रदेशसभा सदस्य रहेकोमा हाल ३ जना सरकारमा सहभागी छन् । ३ जना विपक्षी गठबन्धनमा छन् । यसअघि चार जना सरकारमा सहभागी भएकोमा दुई साताअघि राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएर विपक्षी गठबन्धनलाई समर्थन गरेकी थिइन् ।

जसपाले पुर्मतीलाई प्रदेश सरकारको नेतृत्व गरेको एमालेले मन्त्री बनाएर लैजाने नाममा अपहरण गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले भने यसबारे पनि आफूलाई जानकारी नभएको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले सांसद सम्पर्कविहीन भएपछि खोजबिन जारी रहेको बताए ।

(इकान्तिपुरको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट