भरतपुर, १० श्रावण ।
नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर विधिबाट गरिएका १० हजार ५६९ परीक्षणमा १ हजार ५३९ तथा एन्टिजेन विधिबाट गरिएका ३ हजार २६५ परीक्षणमा ६९८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म संक्रमणबाट निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ । यो संख्या कूल संक्रमितको करिब ९५ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मको उमेर समूहका ३८४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हालसम्म गरिएका पीसीआर परीक्षणको संख्या ३५ लाख ३९ हजार ८३ पुगेको छ । एन्टिजन विधिबाट गरिएका परीक्षणको हालसम्मको संख्या भने २ लाख ८९ हजार ७२९ रहेको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएका परीक्षणमा ६ लाख ८० हजार ५५६ तथा एन्टिजेन विधिबाट गरिएका परीक्षणमा ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।
देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने २७ हजार २२८ रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितमध्ये २४ हजार ५४८ जना होम आइसोलेसनमा छन् भने बाँकी २ हजार ६८० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ३४० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १६८ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या ६६६ रहेकोे छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९४ जनाको भेन्टिलेटरमा तथा ४०८ जनाको आइसीयुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार हालसम्म ३३ लाख ८३ हजार ३८ जनाले पहिलो मात्राको खोप लगाएका छन् । यस्तै पूर्ण मात्राको खोप लगाउनेको संख्या भने १३ लाख ९८ हजार १७८ रहेको छ । तीमध्ये २ लाख ४३ हजार ३१५ जनाले जेन्सेन खोपको एक मात्र मात्रा लगाएका हुन् भने अन्यले कोभिसिल्ड र भेरो सेल खोपको दुवै मात्रा लगाएका हुन् ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चितवनका ७, काठमाडौंका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा ८, नुवाकोटमा २६ र सिन्धुपाल्चोकमा ४ जना संक्रमित थपिएका छन् ।
सोही अवधिमा चितवनका छिमेकी जिल्लाहरू पर्सामा ०, मकवानपुरमा ३, धादिङमा ११, नवलपुरमा ३, नवलपरासीमा १०, तनहुँमा ४ र गोरखामा १० जना संक्रमित थपिएका छन् ।
यस्तै प्रदेश नं १ को झापामा ६३, मोरङमा १८७ र सुनसरीमा ९४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं २ भरि ६६ जना संक्रमित थपिएका छन् ।
यस्तै गण्डकी प्रदेशको कास्कीमा ११४ जना नयाँ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशभर २६ तथा सुदूरपश्चिम प्रदेशभर १९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, नवलपुर र रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ ।





